Main News

प्रहरी सरुवा मापदण्ड : आफैँ बनाउँदै, आफैँ मिच्दै (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० भदौ १७ गते २०:४७
प्रहरी सरुवा मापदण्ड : आफैँ बनाउँदै, आफैँ मिच्दै (भिडियो रिपोर्टसहित)

१७ भदौ २०८० काठमाडौं । राजनीतिक हस्तक्षेपबाट प्रहरी संगठनलाई जोगाउने भन्दै हालै स्वीकृत भएको सरुवा सम्बन्धी नयाँ मापदण्डको प्रहरीबाटै खिल्ली उडाइएको छ ।

सरुवा तथा पदस्थापन भएर गएको युनिटमा ५ महिना पनि काम गर्न नपाउँदै ५ एआईजीको सरुवा भएपछि संगठन प्रमुखले बनाएको मापदण्ड मजाकको विषय बनेको थियो नै अहिले फेरि महानिरीक्षक कुँवरले नै आफूले बनाएको सरुवा सम्बन्धी मापदण्डलाई लत्याउदै प्रहरी नायब उपरीक्षकको सरुवा गर्नुभएको छ ।

गत शुक्रबार प्रहरी प्रधान कार्यालयले १२० जना प्रहरी नायव उपरीक्षक डीएसपीको सरुवा गरेको छ । सरुवा गरेकामध्ये डीएसपी भरत शाह (बझाङ), भोजराज पाण्डेय (मुस्ताङ) र फणिन्द्र रानाभाट ९मनाङ० को सरुवा मापदण्ड मिचेर गरिएको छ ।

उनीहरूलाई मापदण्डविपरीत जिल्ला प्रहरी प्रमुखको जिम्मेवारी दिइएको छ । गत साउन ३२ गते मन्त्रीस्तरीय निर्णयबाट स्वीकृत भएको ‘सिनियर प्रहरी अधिकृतको सरुवासम्बन्धी मापदण्ड २०७९’ को पहिलो (संशोधन २०८०) विपरीत उल्लेखित तीन जना प्रहरी नायव उपरीक्षकलाई अवकास हुन एक वर्ष बाँकी रहँदा कार्यालय प्रमुखको जिम्मेवारीसहित सरुवा गरिएको हो ।

‘सिनियर प्रहरी अधिकृतको सरुवासम्बन्धी मापदण्ड २०७९’ को नियम ४ को उपनियम ‘भ’ मा सामान्यतया प्रचलित नियमानुसार अनिवार्य अवकाश हुने प्रहरी कर्मचारीको हकमा अवकाश हुन एक वर्ष बाँकी रहेको अवस्थामा सम्बन्धित प्रहरी कर्मचारीले सरुवा जान चाहेमा निजले चाहेको कार्यालयमा सुविधा स्वरुप सरुवा गर्न सकिने छ । तर कार्यालय प्रमुखको रुपमा खटाइने छैन भनिएको छ । तर प्रहरी महानिरीक्षक वसन्तु कुँवरले मापदण्ड नै मिचेर २०८१ भदौ १६ गते अनिवार्य अवकासमा जान लागेका प्रहरी नायव उपरीक्षकहरुलाई सरुवा गरिदिनुभयो ।

यति मात्र होइन, संशोधित नयाँ मापदण्डले प्रहरी अतिरिक्त महानिरीक्षकको सरुवा पनि सामान्यतया एक वर्षपछि मात्र हुने बताइएको छ । संशोधित मापदण्डको नियम ५ को उपनियम ख कार्यालय प्रमुखको रुपमा खटिएका प्रहरी अतिरिक्त महानिरीक्षकहरुको सामान्यतया १ वर्ष अवधिसम्म सो जिम्मेवारीमा बहाल रहनेछन् भन्ने उल्लेख छ ।

तर नयाँ मापदण्ड लागू भएको एक हप्ता नबित्दै एआईजीहरु टेकप्रसाद राई, मीरा चौधरी, श्यामलाल ज्ञवाली र दीपक थापाको पनि मापदण्डविपरीत सरुवा गरिएको छ। आफैले बनाएको मापदण्ड मिचेर गरिएको सरुवाले प्रहरीको शाख कमजोर बनाएको छ ।

मापदण्डविपरीत भएका सरुवामा प्रहरी महानिरीक्ष कुँवरदेखि उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठमाथि नैतिक प्रश्नसमते उठेको छ । तर यसरी भएको सरुवामा राजनीतिक दबाब र नेताहरुको शक्ति प्रदर्शनले मुख्य भूमिका खेलेको छ ।

प्रहरी सरुवाका विषयमा वर्षौँदेखि नियम मिच्ने क्रम चलिरहेको छ । हालै मात्र गृहमन्त्री श्रेष्ठले अब सोर्स फोर्स वा दबाबका आधारमा सरुवा बढुवा नहुने बताउनु भएको थियो । तर स्वयम् श्रेष्ठ नै चरम दबाबमा परेपछि प्रहरीको सरुवा सम्बन्धी संशोधित मापदण्डले क्षणभरमै हावा खाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *