बिशेष

माओवादी नेताको सन्तानप्रेम, लिँदैछन् जनयुद्धको हुर्मत (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० भदौ १६ गते २०:४७
माओवादी नेताको सन्तानप्रेम, लिँदैछन् जनयुद्धको हुर्मत (भिडियो रिपोर्टसहित)

१६ भदौ २०८० काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रले ‘जनतासँग माओवादी’ नाममा पार्टी रुपान्तरण अभियान त सुरु गरेको छ, तर यो अभियानमा माओवादी नेताहरुले निकै कठिन प्रश्नहरुको सामना गर्नुपर्ने देखिन्छ ।

वास्तवमा माओवादीका नेताहरुलाई जनताको माया छ कि आफ्नै सन्तानप्रतिको मोहले कमजोर बनाएको छ भन्ने प्रश्नले माओवादीमाथि प्रहार हुने पक्का छ । हुन पनि माओवादीका शक्तिशाली नेताहरुलाई चरम सन्तान मोहले ग्रसित बनाएको पक्कै हो ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित अधिकांश शीर्ष नेताहरु आफ्ना सन्तान मोहका कारण बदनाम छन् । तेस्रो पटक प्रधानमन्त्री बनेपछि आफ्नै छोरीलाई प्रमुख स्वकीय सचिव बनाउनु भएका प्रचण्डले छोरा प्रकाश दाहाल बाँचुन्जेल उनलाई नै सो स्थान दिने गर्नुभएको थियो । छोरी रेनुलाई अघि बढाउन प्रचण्डले हदैसम्मको मेहनत गर्दै आउनु भएको छ ।

भरतपुर महानगरपालिकाको प्रमुख बनाउन स्थानीय तहको पहिलो निर्वाचनमा कांग्रेससँग गठबन्धन गर्नुभयो र दोस्रो निर्वाचनमा पनि सोही आशक्ति देखाउनु भयो । बरु प्रचण्डको सन्तान मोहलाई साथ दिँदा कांग्रेसले आफ्नै पार्टीभित्र क्षति व्यहोर्नुपर्‍यो ।

सशस्त्र युद्धदेखि लामो समय प्रचण्डको साथमा रहेका शक्तिशाली नेता, हालका एमाले उपाध्यक्ष रामबहादुर थापा बादलको सन्तान मोह उस्तै छ । केही महिनाअघि पर्दाफास भएको नक्कली भुटानी शरणार्थी प्रकरणमा बादलका छोरा प्रतीक थापा मुछिए, पक्राउ पूर्जी जारी भएपछि फरार छन् ।

माओवादी नेता एवम् पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनपुत्र दीपेश पुन पनि नेताकै सन्तान भएका कारण विद्यार्थी नेता हुँदै सत्ताको चरम दुरुपयोग गर्ने ठाउँसम्म पुगे । पछिल्ला थुप्रै प्रकरणमा नाम मुछिए पनि अहिलेसम्म उनीमाथि कुनै प्रकारको अनुसन्धान भएको छैन । उनले आफ्ना बुवाको शक्ति दुरुपयोग गर्दै थुप्रै अवैध काम र गतिविधिलाई निरन्तरता दिइरहेको गुनासो माओवादीकै नेताहरुले गर्ने गरेका छन् ।

प्रतिनिधिसभाका पूर्वसभामुख एवम् माओवादी प्रवक्ता अग्नि सापकोटाका छोरा रुपक सापकोटाले प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारको नियुक्ति खाइरहनु भएको छ । नेतापुत्र भएकै कारण यसअघि परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको उप–कार्यकारी निर्देशक पदमा सहज नियुक्ति पाएका सापकोटालाई ब्याक टू ब्याक अवसर प्राप्त भइरहेका छन् ।

सशस्त्र युद्धदेखिका प्रचण्डका प्रिय पात्र र पछि एमाले सचिव रहँदा नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका टोपबहादुर रायमाझीका छोरा सन्दीप पनि नेता पुत्र भएकै कारण विभिन्न चलखेल र जालझेलमा सहज रुपमा सहभागी भए र संरक्षण पाए । हाल नक्कली शरणार्थी प्रकरणमा उनी पनि थुनामा छन् ।
हालै मात्र पूर्वसभामुख एवम् माओवादी उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुल नौ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका छन् । भेप बनाएर ल्याइएको सुन तस्करी प्रकरणमा अर्का छोरा निर्मलको फोन पनि प्रयोग भएको छ, यद्यपि उनीमाथि छानबिन अघि बढेको छैन ।

यीनै बदनामी उदाहरणले माओवादी नेतामाथि नागरिकको मनमा पटकपटक प्रश्न उठिरहेको छ, आखिर आफ्ना सन्तानलाई मात्र पोस्ने हुन् त ? जनयुद्धदेखि पहिलो संविधानसभा निर्वाचनसम्मा गरेको त्यत्रो भरोसाको परिणाम यही हो त ? आफ्नै सन्तानले जनयुद्धको हुर्मत लिइसक्दा अझै पनि जनयुद्धको नाममा ब्याज खाइरहने हो त ? पहिले आफ्नो आचरण रुपान्तरण नगरी पार्टी रुपान्तरण कसरी हुन सक्ला त ? यी प्रश्न नागरिकको मनमा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्