Main News

माओवादी केन्द्रको विशेष रुपान्तरण अभियान शुरु

हिमालय टिभी
२०८० भदौ १६ गते १५:०१
माओवादी केन्द्रको विशेष रुपान्तरण अभियान शुरु

१६ भदौ २०८० काठमाडौं । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू नेतृत्वको सरकारले इतिहासले नै सम्झिनेगरी साहसिक र जनपक्षीय काम गरेको दावी गर्नुभएको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज जनतासँग माओवादी विशेष रुपान्तरण अभियानको शुभारम्भ गर्दै प्रधानमन्त्री प्रचण्डले आफ्नो नेतृत्वको सरकारले इतिहास लेखिने गरी सामाजिक न्याय र सुशासनको पक्षमा काम गरेको बताउनुभएको हो ।

सरकारले विकास र समृद्धिलाई समेत प्राथमिकतामा राखेर काम गरिरहेको बताउँदै प्रचण्डले अहिले जनतामा आशा र भरोसाको वातावरण बनेको जिकिर गर्नुभयो ।

आफू नेतृत्वमा रहेको सरकारले सामाजिक न्यायको प्रत्याभूति, सुशासन, सार्वजनिक सेवा, प्रवाहमा जनताको सहज पहुँच र विकासलाई मुख्य प्राथमिकता दिँदै काम गरिरहेको उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री प्रचण्डले सरकारले गरेका काम र यो अभियानबाट माओवादी पार्टी देशको सबैभन्दा बलियो शक्ति बन्न सक्ने तर्क गर्नुभयो।

उहाँले सरकारलाई काम गर्न नदिन विभिन्न कोणबाट अवरोध सिर्जना भएको र लोकप्रिय कामको प्रभाव जनतामा पर्न नदिन षड्यन्त्र भइरहेकाले यो अभियानले त्यसलाई चिर्नुपर्ने उहाँको भनाइ छ ।

देशभरका सबै वडामा एक साथ ‘जनतासँग माओवादीः विशेष रुपान्तरण अभियान’को उद्घाटन भएसँगै सबै शीर्ष नेताहरू समेत वडावडामा पुग्ने कार्यक्रम तय भएको छ । यसक्रममा प्रधानमन्त्री समेत रहेका प्रचण्ड चन्द्रागिरि नगरपालिका (२ घट्टेडाँडाको कार्यक्रममा जानुहुनेछ ।

वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ ललितपुर महानगरपालिका(२८ हरिसिद्धीको कार्यक्रममा सहभागी हुनुहुनेछ । सबै पदाधिकारी जाने वडाहरु तोकिएको छ । अभियानका क्रममा जनताको घरघरमा जाने र जनतालाई सुन्ने माओवादीको योजना छ । माओवादीले यो अभियानलाई आफूहरूको अन्तिम परीक्षा भएको बताएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *