Main News

मेयर बालेन्द्रको अडान, राजनीतिमा स्पेस खोज्दै (भिडियो रिपोर्टसहित)

२०८० भदौ १५ गते २१:१४
मेयर बालेन्द्रको अडान, राजनीतिमा स्पेस खोज्दै (भिडियो रिपोर्टसहित)

१५ भदौ २०८० काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहका केही निर्णय राष्ट्रियतासँग जोड्नुभएको छ । एउटा शहरको मेयरले राखेका अडान प्रधानमन्त्री वा शीर्षतहबाटै हुनुपर्थ्यो । तर, यहाँ संघ बोल्दैन मेयर शाह आफूलाई राष्ट्रिय नेताका रुपमा उभ्याउन खोज्दै हुनुहुन्छ ।

उहाँले भारत र चीनसँग असन्तुष्टि मात्र होइन, सिंहदरवारको फोहोर नउठाउने निर्णयले पनि उहाँ राष्ट्रिय मत क्यास गर्न खोज्दैहुनुहुन्छ । तर, स्थानीय तहका समस्यामा उहाँ पछिल्लो समय खरो उत्रिन सक्नुभएको छैन ।

गत सोमबार चीनले आफ्नो नयाँ राजनीतिक नक्सा जारी गर्यो । चीनले जारी गरेको नक्सा आफ्नो भूभाग मात्र थिएन, त्यस नक्सामा अरु मुलुकहरु पनि प्रष्ट देखिन्थ्यो । नेपालको कालापानी, लिपुलेक, लिम्पियाधुरा भूभागसमेत समेटिएको आधिकारिक चुच्चे नक्सा चीनले चिनेन । अर्थात चीन सो क्षेत्र नेपालको हो भन्नै चाहेन, भारतकै नक्सामा समेटिदियो ।

भारत, ताइवान, भियतनाम लगायतका देशले चीनले जारी गरेको नक्सामा आपत्ति जनाए तर, आफ्नो आधिकारिक नक्सालाई मान्यता नदिएको चीनविरुद्ध नेपालले बोल्ने आँट नै गरेन । संघीय सरकारले नबोलेको बहानामा मेयर शाहले उहाँको हुनै लागेको चीन भ्रमण रद्द गरेर ठूलो सन्देश दिन खोज्नुभयो । हुन त एउटा शहरको मेयरले असन्तुष्टि जनाउँदा चीनलाई खासै फरक पर्दैन । राष्ट्रियता नेपालमा खुबै बिक्ने चिज हो ।

यो स्वभाविक पनि हो । राष्ट्रियतामा आँच आउन कसैले पनि दिंदैन । शाहले चीनसँगको असन्तुष्टि मात्र होइन, भारतसँग पनि असन्तुष्टि पोख्नुभयो । जेठ अन्तिमतिर प्रदर्शनमा आएको भारतीय चलचित्र आदिपुरुषमा सीता भारतकी छोरी भएको आशयको डाइलगमा नेपालमा असन्तुष्टि सुरु भयो । अनि मेयर शाहले काठमाडौंमा आदिपुरुषको प्रदर्शनमै रोक लगाइदिनुभयो । त्यसपछि भारतले आफ्नो संसद भवनमा नेपाली भूमि कपिलवस्तु, लुम्बिनी समावेश गरेर मुरल लगायो । मेयर शाहले आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेर अर्को चुनौति दिनुभयो ।

यस्ता मुद्दामा मात्र होइन, शाहले सिंहदरवारको फोहोर नउठाउने निर्णय गर्दै संघलाई अर्को चुनौति दिनुभयो । जबकि त्यो हैसियत काठमाडौं महानगरपालिकाले राख्दैन । तर, काठमाडौं महानगरका समस्याहरुमा हिजो–आज उहाँ खरो उत्रिन सक्नुभएको छैन । उहाँले गरेका कतिपय निर्णयहरु कार्यान्वयनमै आउन सकेनन् । जस्तो सार्वजनिक शौचालय अभियान अलपत्र छ ।

अब प्रश्न उठ्छ, आफ्ना मतदाताका दैनिक समस्यालाई ध्यान दिन छाडेर छिमेकी देशसँग पैठे जोरी खोज्न शाहलाई किन आवश्यक पर्यो र के बाध्यता आइलाग्यो ? जानकार बताउँछन् , शाह नगरप्रमुखमा मात्रै सिमित हुने भन्दा पनि आगामी निर्वाचनबाट राष्ट्रिय राजनीतिमै हाम फाल्न चाहानु हुन्छ । नेपालको राजनीतिमा सजिलै स्थापित हुने बलियो अस्त्रका रुपमा साहले राष्ट्रवादको कार्ड प्रयोग गरेको हुन सक्ने विश्लेषकको भनाइ छ ।

काठमाडौं मात्रै नभएर धरान, जनकपुर, धनगढी लगायतका स्थानमा स्वतन्त्र उम्मेदवार निर्वाचित भएकै कारण रास्वपा, नागरिक उन्मुक्ति लगायतका दल स्थापित भएका थिए । उनीहरुले निर्वाचनमा राम्रो मत पनि पाए । त्यसो भए अब मेयर शाहले पनि पार्टी खोलेर राष्ट्रिय राजनीतिमा आउने सम्भावना कति छ त ?

शाहले आगामी २ हजार ८४ सालको निर्वाचन सम्म पार्टी स्थापना गरेमा वा कुनै दलमा प्रवेश गरेर राजनीतिमा होमिएमा कुनै नौलो भने हुने छैन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *