बिशेष

केही नेपाल ऐन संसोधन विधेयकमा सत्ता पक्षकै सांसदहरुको असन्तुष्टि

हिमालय टिभी
२०८० भदौ १२ गते १७:२५
केही नेपाल ऐन संसोधन विधेयकमा सत्ता पक्षकै सांसदहरुको असन्तुष्टि

१२ भदौ २०८० काठमाडौं । सरकारले संसदमा टेबुल गरेको केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८० माथि सत्तापक्ष र प्रतिपक्षले असन्तुष्टि व्यक्त गरेका छन् ।

ऐन माथिको सामान्य छलफलमा भाग लिँदै सत्तारुढ दल कांग्रेस र एमालेले असन्तुष्टि जनाएको हो। छलफलमा भाग लिँदै नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विधेयकमार्फत जघन्य अपराधीलाई जोगाउने प्रावधान ल्याइएको भन्दै त्यसको विरोध गर्नुभयो ।

उहाँले कांग्रेसलाई राजनीतिक अपराधिकरण र अपराधको राजनीतिकरण स्वीकार्य नभएको भन्दै यो विधेयकको भारी नबोक्न कानूनमन्त्रीलाई आग्रह गर्नुभयो । बहुमतको आधारमा सरकारले संसदलाई हेप्ने गरेको भन्दै कमजोर नसोच्न प्रधानमन्त्रीलाई चेतावनी दिनुभयो ।

कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले पनि हिंसात्मक गतिविधि छोडेर शान्तिपूर्ण राजनीतिमा आएकाको मुद्दा खारेज गर्नु नहुने धारणा राख्नुभयो ।

ऐनमा हिंसात्मक क्रियाकलाप छोडेर शान्तिपूर्ण राजनीतिमा फर्किने समुहलाई उनीहरुको मुद्दा खारेज गर्नेगरी पारित गर्नु नहुने उहाँको तर्क छ ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद ठाकुरप्रसाद गैरले संसदमा पेश गरिएको विधेयक कानून निर्माणका लागि योग्य नभएको दावी गर्नुभयो । उहाँले सरकारले त्यसलाई फिर्ता लिएर पुनर्लेखन गरी संसदमा पेश गर्नुपर्नेमा जोड दिनुभयो ।

कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले आफू निष्ठाको राजनीतिबाट कहीँ कतै नचुकेको दाबी गर्नुभयो । उहाँले सांसदहरुले विधेयक ल्याउने क्रममा बिचौलिया हाबी भएको भन्ने टिप्पणी गरेकोमा आपत्ति जनाउनुभयो ।

तिनिधिसभामा गणपूरक संख्या नपुगेकाले केही नेपाल ऐन संशोधन विधेयकलाई विचार गरियोस् भन्ने प्रस्ताव आज निर्णयार्थ प्रस्तुत हुन सकेन । २७५ सदस्यीय प्रतिनिधिसभामा कुनै प्रस्ताव निर्णयार्थ पेश गर्न ६९ जना सांसदहरु उपस्थित हुनुपर्छ । तर आजको बैठकमा ५९ जना सांसदमात्र उपस्थित थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्