Main News

हर्क साङपाङ सम्हालिनुपर्ने समय…(भिडियो रिपोर्टसहित)

२०८० भदौ ११ गते २१:०७
हर्क साङपाङ सम्हालिनुपर्ने समय…(भिडियो रिपोर्टसहित)

११ भदौ २०८० काठमाडौं । सुनसरीको धरान उपहानगरपालिकाका मेयर हर्क साङपाङकाले संयमता गुमाउँदै जान थाल्नु भएको छ ।

एकपछि अर्को विवादित भनाइ सामाजिक सञ्जालमा पोष्ट गर्दै आउनु भएका मेयर साङपाङले अर्को समुदायको भावनामा ठेस पुग्ने अभिव्यक्ति दिँदा समाज भाँडिने चिन्ता सुरु भएको छ ।

धरान उपमहानरपालिकाका मेयर हर्क साङपाङ प्रकृति संरक्षण र आफ्ना मतदाताको सेवामा अब्बल हुनुहुन्छ । स्थानीय तहको निर्वाचनअघि एक्लै हुँदासमेत धरानको खानेपानी समस्याका लागि संघर्ष गरेका र निर्वाचनमा समेत पानीकै समस्यालाई प्रमुख एजेण्डा बनाएका साङपाङले आफू निर्वाचित भएको दिनदेखि नै काम गरिरहनु भएको छ । उहाँको मेहनत घरघरमा छचल्किइसकेको छ ।

कहिले खोलाबाट, कहिले बगरबाट त कहिले वनबाटै उहाँले गरेको आह्वानमा हातेमालो गर्न कयौँ धरानवासी तयार भएका छन् । उहाँका अभियानलाई पाइलापाइलामा सहयोग गर्नेहरु छन्, कतिपयले उहाँलाई बाहिरै बसेर आत्मबल दिएका छन्, ऐकेबद्धता जनाएका छन् ।

जननिर्वाचित एक राजनीतिक प्राणीलाई यो समर्थन निरन्तर भइरहनु पक्कै पनि सबैभन्दा ठूलो ऊर्जा र हिम्मत हुनुपर्छ । तर उहाँले यस्तो ऊर्जा र हिम्मतलाई आफ्ना अभिव्यक्तिका माध्यमबाट कमजोर बनाउँदै जान लाग्नु भएको छ । जसले मेयर साङपाङको तेजलाई ओरालोतर्फ धकेल्ने जोखिम बढाएको छ ।

मन्दिरको छेउमा चर्च निर्माणको प्रकरणबाट सुरु भएको धरानको धार्मिक र जातीय असमझदारीमा सुझबुझपूर्ण आश्वासन दिन नसक्दा चुकेका साङपाङ त्यसयता अरु कसैका कारण नभई आफ्नै कारणले गिजोलिँदै जानु भएको छ ।

सबै धर्म र समुदायप्रति मेयरको सोच र विचार एउटै हुनुपर्छ । सबैप्रति समान दृष्टिकोण हुँदाहुँदै पनि बिग्रिन लागेको माहोललाई सही दिशा निर्देश गर्ने कुरामा चुकेका साङपाङ त्यसयता आफूलाई सम्हाल्न नसक्दा पटकपटक विवादको तारो बनिरहनुभयो ।

त्यसैले कतिपय उग्रवादीहरुले उहाँकै विरुद्धसमेत नाराबाजी गरेको सुनिएको छ । यो पक्कै पनि राम्रो संकेत होइन । अभिभावकीय भूमिकामा रहेको व्यक्तिले सनकका भरमा दिने अभिव्यक्तिले माहोल थप अशान्त बन्दै गएको छ ।
भदौ ९ गते हिन्दुवादी समूहहरुले धरानमा प्रदर्शन गर्न खोज्दा त्यहाँ अशान्ति मच्चिने जोखिम थियो । मेयर साङपाङको तारन्तार माहोल खराब बनाउनेगरी अभिव्यक्ति आइरह्यो ।

अन्ततः उहाँ आफैले सार्वजनिक अपिल जारी गर्नुपर्‍यो । उहाँले भनेको जस्तो बाहिरियाहरुले धरानलाई विथोल्न पक्कै पाइँदैन ।

उहाँले आफ्नो प्रचारका लागि फेरि बाहिरियाहरुको साथ खोज्नु भएको छ । सरकारमा रहेको व्यक्तिले आफ्ना संयन्त्रहरु परिचालन गरेर भ्रष्टाचार रोक्ने हो । तर मेयर साङपाङ कस्का विरुद्ध प्रदर्शनको तयारी गर्दै हुनुहुन्छ ? यो अतिप्रचार उहाँका लागि आवश्यक छ ?

नागरिक कसैको मुठीमा हुँदैनन् । काम गरुन्जेल आफ्नो र गर्न छोडेपछि अर्कैको । सबैका आ–आफ्ना बुझाइ र विचार छन् । तीनलाई साङपाङले बदल्न सक्नु हुन्न । उहाँले आफूप्रति केही सकारात्मक सोच भर्न मात्र सक्नुहुन्छ, त्यसका लागि कामै गर्नुपर्ने होला, तर काम गर्ने ठाउँमा बसेर, परिचालन गर्ने ठाउँमा बसेर फेरि कुन सरकारविरुद्ध उत्तेजना र आबेग बढाउन खोज्दै हुनुहुन्छ ? यस्तो शिलशिलाको परिणति के हुन्छ ? कहिल्यै सोच्नु भएको छ ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *