प्रतिनिधिसभाअन्तर्गतका सबै समितिले पाए नेतृत्व
११ भदौ २०८० काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतका सबै समितिका सभापति निर्विरोध निर्वाचित भएका छन् ।
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिबाट राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले उम्मेदवारी फिर्ता लिएपछि १० वटै समितिमा सभापति निर्विरोध निर्वाचित भएका हुन् ।
पराजुलीले उम्मेदवारी फिर्ता लिएपछि उद्योग समितिमा जनमतका अब्दुल खान निर्विरोध निर्वाचित हुनुभयो ।
त्यस्तै अर्थ समितिको सभापतिमा कांग्रेसका सन्तोष चालिसे, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सभापतिमा जसपाका राजकिशोर यादव, कानुन, न्याय तथा मानवअधिकार समितिमा माओवादी केन्द्रकी विमला सुवेदी, कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिमा कांग्रेसकी आरजु देउवा, महिला तथा सामाजिक मामिला समितिमा एमालेका किरणकुमार साह, राज्य व्यवस्था तथा सुशासन समितिमा कांग्रेसका रामहरि खतिवडा निर्वाचित हुनुभयो ।
त्यस्तै, सार्वजनिक लेखा समितिमा एमालेका ऋषिकेश पोखरेल, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा एकीकृत समाजवादीका भानुभक्त जोशी, पूर्वाधार विकास समिति सभापतिमा राप्रपाका दीपकबहादुर सिंह निर्वाचित हुनुभयो । समिति सभापतिहरुले सभामुख देवराज घिमिरेसँग पद तथा गोपनियताको शपथ लिनुभएको छ ।
यसअघि सत्तारूढ र प्रमुख प्रतिपक्षबीच सहमति हुँदा संसद्को चौथो दल रास्वपा र पाँचौं दल राप्रपालाई समिति सभापति नदिने तय भएको थियो । तर मनोनयन दर्ताको केही समयअघि नेकपा माओवादी केन्द्रको भागमा परेको पूर्वाधार विकास समितिको सभापति राप्रपालाई छोडिएको थियो ।
प्रतिक्रिया