सेवाग्राहीसँग पार्किङ शुल्क लिन नपाउने निर्णय कार्यान्वयन हुने
११ भदौ २०८० काठमाडौं । काठमाडौं महानगरपालिकाले गरेको सेवाग्राहीसँग पार्किङ शुल्क लिन नपाउने निर्णय कार्यान्वयन हुने भएको छ ।
महानगरको पक्षमा उच्च अदालत पाटनले अन्तरिम आदेश दिएसँगै कार्यान्वयनको बाटो खुलेको हो । महानगरपालिले बहुतले आवासीय एवम् व्यवसायिक भवनमा सवारी साधन पार्किङ गर्दा सेवाग्राहीसँग शुल्क लिन नपाउने निर्णय गरेको थियो ।
तर त्यसविरुद्ध कम्पलेक्स डेभलपर लिजर एशोसिएनले महानगरविरुद्ध उच्च अदालत पाटनमा रिट दर्ता गरेको थियो । त्यो रिटमाथि साउन २२ गते सुनुवाइ गर्दै न्यायाधीश राजेन्द्र खरेलको एकल इजलासले काठमाडौं महानगरपालिकासँग लिखित जवाफ माग गरेको थियो ।
अदालतले साउन ३० गतेसम्म व्यापारिक कम्प्लेक्सभित्र रहने पार्किङस्थलमा पार्किङ शुल्क लिने सम्बन्धमा कुनै हस्तक्षेप नगर्न अल्पकालीन आदेश दिएको थियो । दुवै पक्षलाई छलफलमा बोलाइसकेपछि अदालतले महानगरको पक्षमा अन्तरिम आदेश दिएको हो ।
महानगरले आर्थिक ऐन २०८० मार्फत महानगरपालिकाले व्यापारिक भवनहरुले पार्किङ शुल्क लिन नपाउने व्यवस्था गरेको हो । आर्थिक ऐन अनुसार आफ्नो सेवाग्राही भन्दा बाहेक अन्यसँग भने पार्किङ शुल्क लिन महानगरपालिकाले रोक लगाएको छैन ।
प्रतिक्रिया