कोशी प्रदेश आजबाट बजेटविहीन
११ भदौ २०८० मोरङ । कोशी प्रदेश आजबाट बजेटविहीन भएको छ ।
नेकपा एमाले नेतृत्वको पूर्ववर्ती सरकारले अध्यादेशमार्फत् ल्याएको बजेटको कानुनी तथा संवैधानिक हैसियत आजदेखि सकिएको छ ।
प्रदेशसभाबाट समयमै चालू आर्थिक वर्षको बजेट पारित नभएपछि गएराति १२ बजेदेखि कोशी प्रदेश सरकार मातहतका कार्यालयबाट बजेट खर्च गर्न बन्देज लागेको छ।
गत जेठ ३२ गते तत्कालीन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अध्यादेशबाट बजेट ल्याउनु भएको थियो। अध्यादेश असार १४ गते प्रदेश सभामा पेश भएको थियो। प्रदेश सभामा पेश भएको अध्यादेश ६० दिनभित्र पारित वा प्रतिस्थापन हुनुपर्ने थियो। तर सत्ता र प्रतिपक्ष दुवै पक्षको हठ र अदूरदर्शीताका कारणले प्रदेश बजेटविहीन अवस्थामा पुगेको छ ।
मुख्यमन्त्री उद्धव थापा नेतृत्वको सरकारलाई सर्वोच्च अदालतले कामचलाउका रूपमा दीर्घकालीन महत्त्वका काम नगर्न अन्तरिम आदेश दिएपछि नयाँ अध्यादेशसमेत आउन नसकेको हो।
कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बाबुराम गौतमले बजेट होलिडेको अवस्थामा पुगेपछि अदालत जाने तयारीमा रहेको बताउनुभयो ।
प्रतिक्रिया