Main News

संसदीय समितिहरुको सभापति चयन गरिँदै

हिमालय टिभी
२०८० भदौ ११ गते ८:२५
संसदीय समितिहरुको सभापति चयन गरिँदै

११ भदौ २०८० काठमाडौं । ‘मिनी पार्लियामेन्ट’का रूपमा लिइने संसदीय समितिको नेतृत्व चयन आज हुँदैछ ।

समितिका सभापतिको उम्मेदवारी प्रस्ताव दर्तापछि हिजो नै ती प्रस्तावको सूची प्रकाशित भइसकेको छ। आज सम्बन्धित समितिमा ती प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिनेछन् । सबै समितिको बैठक दिउँसो ३ बजे बोलाइएको छ । ९ वटा समितिमा एकल उम्मेदवारी परेको छ ।

उद्योग समितिमा जनमत पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदले उम्मेदवारी दिएका छन । संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले तीन समितिको सभापतिमा उम्मेदवारी दर्ता गरेको छ । त्यसमध्ये सांसद आरजु राणाले कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति र रामहरि खतिवडाले सुशासन समितिको सभापतिमा उम्मेदवारी दर्ता गराउनु भएको छ ।

कांग्रेसकै सन्तोष चालिसेले अर्थ समितिको सभापतिमा उम्मेदवारी दर्ता गर्नुभएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले दुईवटा समितिको सभापतिमा उम्मेदवारी दिएको छ । सांसद ऋषिकेश पोखरेलले सार्वजनिक लेखा समिति र किरणकुमार साहले महिला तथा सामाजिक मामिला समितिको सभापतिमा उम्मेदवारी दर्ता गर्नुभयो ।

माओवादी केन्द्रका सांसद विमला सुवेदीले कानुन न्याय तथा मानवअधिकार समितिको सभापतिमा र जसपाका सांसद राजकिशोर यादवले अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको सभापतिमा उम्मेदवारी दिनुभयो ।

यस्तै एकीकृत समाजवादीका भानुभक्त जोशीले शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा उम्मेदवारी दर्ता गराउनुभएको छ ।

जनमतका अब्दुल खान र रास्वपाका गणेश पराजुलीले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा उम्मेदवारी दर्ता गराउनुभएको छ। यस्तै पूर्वाधार विकास समितिको सभापतिमा भने राप्रपाका दीपक सिंहले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

नयाँ संसद गठन भएको ९ महिनापछि संसदीय समितिले नेतृत्व पाउन लागेको हो । संसदीय समितिको नेतृत्व चयन हुन नसक्दा समितिको काम प्रभावकारी हुन सकेको थिएन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *