Main News

कोशीमा राप्रपाले देला त मुख्यमन्त्रीलाई विश्वासको मत ? (भिडियो रिपोर्टसहित)

२०८० भदौ १० गते २१:०२
कोशीमा राप्रपाले देला त मुख्यमन्त्रीलाई विश्वासको मत ? (भिडियो रिपोर्टसहित)

१० भदौ २०८० मोरङ । एकातिर प्रदेश सरकारमा बजेट होलिडे चलिरहेको छ अर्कोतर्फ नयाँ राजनीतिक खिचडी पाकिरहेको छ । ६ सांसद रहेको राप्रपालाई फकाउन सत्ता गठबन्धन मरिहत्ते गरिरहेको छ ।

सर्वोच्च अदालतको फैसला कस्तो आउने भन्ने अडकलबाजीका बीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भागमा रहेको विकास समिति राप्रपालाई दिएर फकाउन खोज्नुभएको छ । कुनै सौदाबाजी नभएको दावी गरेपनि राप्रपा कोशीमा स्थिरताका लागि मुख्य फ्याक्टर बन्न पुगेको छ ।

भदौ ४ गते कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले सभाध्यक्ष इस्राइल मन्सुरी समेतको मतबाट विश्वासको मत पाएपछि एमाले सर्वोच्च पुग्यो । भदौ ७ गते सर्वोच्च अदालतले कोशी प्रदेशमा सभाध्यक्षले मत दिन कानुनले नदिएको उल्लेख गदै प्रदेश सरकारलाई कामचलाउ बनाइदिएको छ । र, अर्को पेसी भदौ १५ का लागि तोकिएको छ । साउन १६ मा मुख्यमन्त्री नियुक्त भएका थापाले विश्वासको मत लिने अन्तिम दिन भदौ १५ हो ।

यदि अदालतले सोही दिन फैसला गरेर थापालाई पुनः विश्वासको मत लिन भनेको अवस्थामा बाहेक अहिलेको कोशी सरकार ढल्ने निश्चित छ । अदालतको प्रारम्भिक अन्तरिम आदेशले कोशीमा थापा नेतृत्वको सरकारले गलत गरेको ठहर गरिसकेको छ । तर, सत्ता गठबन्धनले भने नयाँ चाल चल्न थालेको छ ।

माओवादीले आफ्नो भागमा परेको विकास समितिको सभापति राप्रपालाई दिएर कोशीमा मत दिन फकाउन सुरु गरेको छ । माओवादीले त कोशी प्रदेशमा सहकार्य गर्नेबारे आन्तरिक सहमति नै भइसकेको दाबी गरेको छ ।

माओवादीको यो तर्कमा दम छ । किनभने यदी समितिको सभापति राष्ट्रिय दल बनेको राप्रपालाई दिँदा रास्वपालाई किन छाडियो भन्ने प्रश्न छ । जबकी संसदको चौथो ठूलो दल रास्वपा हो भने पाचौँ दल राप्रपा हो । तर, कोशीको संसदीय अंकगणित र गठबन्धन भने अलिक फरक छ ।

कोशी संसदीय दलका नेता भक्ति सिटौला र उद्दव थापाबीचको सम्बन्ध राजनीतिक रूपमा सुमधुर छैन । कुनैबेला कांग्रेसमा रहनुभएका सिटौलापछि राप्रपा प्रवेश गर्नुभएको हो । त्यसमाथि कोशीमा राप्रपा र एमालेको सम्बन्ध नयाँ पनि होइन । आलोपालो मुख्यमन्त्री बन्ने गठबन्धनकै प्रस्ताव ठुक्राएको राप्रपाले संघीय संसदीय समितिमा भागवण्डा पाउँदैमा मत दिन्छ भन्नेमा एमाले नै विश्वस्त छैन ।

राप्रपा र माओवादीबीच कोशीसँग जोडेर सहमति भएको हो वा होइन त्यो भदौ १५ पछि प्रष्ट होला । तर, सरकार बनाउने अप्ठेरोबीच सत्ता गठबन्धनले आरामदायी बहुमत पु‍¥याउन राप्रपाको साथ लिन खोज्नु नौलो कुरा होइन । यदी राप्रपाले गठबन्धनलाई साथ दिएको खण्डमा कोशीमा सरकार मात्र जोगिने छैन, अस्थिरताको पनि अन्त्य हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *