Main News

‘धरान संयम हुन जरुरी छ’ (भिडियो रिपोर्टसहित)

२०८० भदौ १० गते २०:५५
‘धरान संयम हुन जरुरी छ’ (भिडियो रिपोर्टसहित)

१० भदौ २०८० काठमाडौं । स्थानीय राजनीतिक दल, नागरिक समाज, स्थानीय प्रशासन र मूलधारमा सञ्चार माध्यमहरुको सुझबुझ र संयमताले गर्दा तत्कालका लागि धरानमा अप्रिय घटना टरेको छ । तर धरानका विकसित घटनाक्रम र विभाजित मनोविज्ञानले भने अझै दुर्घटनाको जोखिम कायमै छ । दुर्घटनाको जोखिम हटेको धरानलाई लिएर विभाजित मनोविज्ञानमा अब भने संयमताको खाँचो देखिएको छ ।

सामाजिक सञ्जालमार्फत् सुरु भएको आरोप पत्यारोपसँगै उपमहानगरपालिकाका प्रमुख हर्क साङपाङको उरन्ठेउलो अभिव्यक्तिका कारण धरानको शान्ति खलबलिँदै गएको थियो ।
मन्दिरसँगै चर्च निर्माण प्रकरणमा प्रमुख साङपाङले आक्रोश बढाउने अभिव्यक्ति दिएको भन्दै कतिपय हिन्दुवादीले विरोध सुरु गरिसकेका बेला गोरुबध र त्यसको प्रचारले धरान विवादको केन्द्र बन्यो ।

जातीय र धार्मिक द्वन्दको जोखिम बढेको स्थितिमा धरानका बृद्धिजिवि, नागरिक अगुवा, स्थानीय राजनीतिक नेतृत्वमात्रै नभएर केन्द्र तहमा पनि राजनीतिक नेतृत्वको अपील र जिल्ला प्रशासन कार्यालय सुनसरीको निधेषाज्ञापछि स्थिति तनावपूर्ण हुनबाट जोगियो ।

सदियौंदेखि विभिन्न धर्म, भाषा, जातजाति र संस्कृति मान्ने नागरिकहरु नेपालमा एक आपसमा मिलेर बसिरहेको पाइन्छ । कुनै उक्साहट बाहेक जातीय तथा धार्मिक द्वन्द्वहरु भएका छैन् । केही द्वन्द्वका झिल्का देखिन थाले राजनीतिक नेतृत्व संवेदनशील रुपमा प्रस्तुत हुँदा घटनाहरु टरेका समेत छन् । तर यतिबेला धरानमा भने केही धार्मिक समूह मुठभेडको नजिकैबाट गुज्रिएका छन् । यसले आम रुपमा मिलेर बसेका नेपालीलाई झस्काएको छ । यस्तो अवस्थामा आपसी भाइचारा, सहयोग र सद्भावले नै शान्ति कायम हुन सक्छ ।

यतिबेला तत्कालीन खतरा टरेको छ । तर सामाजिक सञ्जालबाट एकअर्को सम्प्रादाय तथा व्यक्तिलाई लाञ्छित गरेर माहोल बिगार्ने प्रयास अझै पनि रोकिएको छ । यस तर्फ आम समुदाय र स्वयम् राज्यका निकायको ध्यान जान आवश्यक देखिएको सरोकारवालाहरु बताउँछन् । अर्कोतर्फ धरान उपमहानगरपालिकाका प्रमुख हर्क साङपाङले पनि हदै सम्मको धैर्यता अपनाउनु पर्ने कतिपयको सुझाव छ ।

मनमा लागेको बोल्छु भन्दैमा कतिपयलाई उचाल्ने र कतिपयलाई पछार्ने गरी वा व्यक्तिगत रुपमा आरोप प्रत्यारोप गर्ने गरी अभिव्यक्ति दिँदासमेत यसले साम्प्रदायिक द्वन्द्व बढ्न सक्ने देखिन्छ । खानेपानीको व्यवस्था, वृक्षारोपण लगायतका कतिपय लोकप्रिय काम गरिसकेका धरानका नयाँ अभिभावक साङपाङ सबै समुदाय, जात जाति र धर्मावलम्बीकोसमेत अभिभावक बनिदिएमा भविस्यमा यस्ता द्वन्द्वहरु बल्झिने जोखिम घट्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *