Main News

सन्दीपको सुनुवाई सरेको सर्‍यै, सरेको सर्‍यै, न्यायालयको आलोचना (भिडियो रिपोर्टसहित)

२०८० भदौ १० गते २०:४९
सन्दीपको सुनुवाई सरेको सर्‍यै, सरेको सर्‍यै, न्यायालयको आलोचना (भिडियो रिपोर्टसहित)

१० भदौ २०८० काठमाडौं । सर्वोच्च अदालतले फास्ट ट्रयाकबाट मुद्दाको छिनोफानो गर्नू भने पनि क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेशी भने सरेको सर्‍यै छ ।

सुनुवाईका लागि आज जिल्ला अदालत काठमाडौंका न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलास परेको पेशी हेर्न नभ्याइने भनी आदेश भयो । अब फेरि ११ दिनका लागि यो मुद्दा सरेको छ ।

गत फागुन १५ गते सर्वोच्चका न्यायाधीशद्वय सपना मल्ल प्रधान र कुमार चुँडालको संयुक्त इजलाशले सबैको चासो रहेको सन्दीप लामिछानेविरुद्धको मुद्दा छिटो किनारा लगाउन आदेश दिएको थियो । तर यो मुद्दामा सुनुवाईका लागि पेसी चढ्न थालेको ७ महिना बित्दा पनि किनारा लाग्न सकेको छैन । प्रमाण संकलनदेखि आवश्यक सबै प्रक्रिया पूरा भइसक्दा पनि यो मुद्दालाई जिल्ला न्यायालयले प्राथमिकतामा पारेन । पछिल्लो पटक आइतबार समय अभावका कारण सुनुवाई स्थगित भयो ।

अर्को पेशी २१ भदौमा तोकिएपछि एसिया कप खेल्न सन्दीप भोलि पाकिस्तान जाने भएका छन् । १३ गते सुरु हुने एसिया कपको पहिलो खेलमा नेपालले सोही दिन पाकिस्तानसँग खेल्ने छ भने १८ गते भारतसँग खेल्ने तालिका छ । त्यसैले यी दुवै खेलपछि सन्दीप अर्को पेशीमा उपस्थित हुनेछन् ।

मुद्दाका सबै पक्षसँग बयान लिने र प्रमाण संकलन कार्य सम्पन्न भइ गत माघमा पहिलो पटक सुनुवाईको लागि पेशी तोकिएको थियो । तर यसबीचमा सुनुवाइ त के यो मुद्दामा १० न्यायाधिशको इजलासमा १२ पटक पेशी तोकिसकिएको छ । तर फैसलाको चरणमा रहेको भनिएको मुद्दामा कहिले जाहेरीकर्ता त कहिले प्रतिवादीका पक्षले नै सुनुवाई स्थगित गर्ने त कहिले हेर्न नभ्याइने भन्दै न्यायाधीश समेत पन्छिने काम भइरहेको छ । यसले मुद्दाका दुवै पक्षले न्याय पाउन सकिरहेका छैनन् ।

सुनुवाईका लागि माघ, फागुन, वैशाख र जेठमा २(२ पटक तथा चैतमा ३ र साउनमा १ पटक पेशी तोकियो । अनि भदौमा ३ पटक । मुद्दाको किटानी जाहेरी परेको १ वर्ष र सुनुवाईको प्रक्रिया सुरु भएको ८ महिना भइसकेको छ । उसै पनि नेपालमा समयमा न्याय दिन नसकेको भन्दै न्यायालयको चर्को आलोचना हुने गरेको छ । यस्तोमा धेरैले चासोका साथ हेरिरहेको यो मुद्दाको समयमै छिनोफानो गरेर छवी सुधार्ने मौका समेत न्यायलयलाई छ । जसमा उ चुकिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *