Main News

जनकपुरधाममा झुलन महोत्सवको रौनक (भिडियो रिपोर्टसहित)

२०८० भदौ १० गते १७:१८
जनकपुरधाममा झुलन महोत्सवको रौनक (भिडियो रिपोर्टसहित)

१० भदौ २०८० जनकपुरधाम । यतिबेला जनकपुरधाममा झुलन महोत्सवको रौनक छ । साँझ पर्नासाथ रामजानकी, लक्ष्मण तथा राधाकृष्ण मन्दिरमा झुल्नोत्सवको गीतगान सहितको रमझम सुरु हुन्छ ।

दुलही झै सजाइएको झुलामा भगवान सीताराम, राधाकृष्णको मूर्ति राखेर झुलाउने यस महोत्सवको आफनै धार्मिक महत्व छ ।

अहिले साँझ पर्ना साथ जनकपुरधाम सहित यस क्षेत्रका रामजानकी र राधाकृष्ण मन्दिरमा बेग्लै दृश्य देख्न पाइन्छ । श्रावण शुक्ल तृतियादेखि श्रावण पूर्णिमा अर्थात रक्षाबन्धनसम्म १५ दिन मनाइने यो पर्व जनकपुरधामको जानकी मन्दिर, राम मन्दिर, लक्ष्मण मन्दिर र राधाकृष्ण मन्दिर लगायतकामा हरेक रामजानकी र राधाकृष्ण मन्दिरमा मनाइन्छ ।

पर्वको अवसरमा जनकपुरधामका मठमन्दिर सिंगारिएका छन् । मन्दिरअगाडि झुला बनाई सीताराम, राधाकृष्णको मूर्ति राखेर झुलाउने र भजन कीर्तन गर्ने गरिन्छ । पौराणिक कालमा सीताराम झुलामा झुल्ने गरेको र द्वापरयुगदेखि नै यो पर्व मनाइँदै आएको विश्वास गरिन्छ ।

धनुषाको जनकपुरसँगै यो पर्व महोत्तरी, सर्लाहीका साथै भारतको बिहार सहितका मिथिलाञ्चलमा समेत मनाइन्छ । झूलामा सहभागी हुन काठमाडौं, भारतको मधुवनी, सीतामढ़ी, जयनगर सहितका कालाकारहरु सुन्दर–सदनमा आउने गरेका छन् ।

अयोध्याका प्रमोद वन र मिथिलाका कञ्चनवन झूलापर्वको लागि विशेष महत्व राख्दछ । झूलामा मिथिलाका सखी सहभागी हुने गरेको कुरा धर्मग्रन्थमा समेत उल्लेख छ । मिथिलाबाटै यो परम्परा अवधमा पुगेको पनि बताइन्छ ।

मणिपर्वत पर्व विधिवत् सम्पन्न भए पश्चात् साँझदेखि स्थानीय मठ मन्दिरमा धार्मिक रीति अनुसार झुलनोत्सव गर्ने गरिएको छ । जनश्रुति अनुसार सीताको माईतीमा दाईजोका रुपमा प्राप्त मणिहरू महलमा राख्ने ठाउँ नपाई बाहिर राख्दा पहाड नै भएको थियो । त्यसैको स्मृति स्वरुप झुला उत्सवको प्रारम्भमा रंगभूमिमा पनि मणिपर्वत मनाउने परम्परा छ ।

जनकपुरधामको सुन्दर–सदनमा अरु ठाउँ भन्दा तीन दिन बढी झूलापर्व मनाइने परम्परा छ । झुला उत्सवको सुरुवात सन्त परम्पराको प्रारम्भदेखि नै भएको मानिन्छ । पौराणिक कालदेखि नै झुला पर्व मनाइने परम्परा रहेको भएपनि जनकपुरमा करिब १ सय ३१ वर्ष भन्दा पहिला देखि झूला पर्व मनाउने गरिएको सन्तहरुको भनाई छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *