Main News

संयमताले रोकियो धरानको सम्भावित द्वन्द्व (भिडियो रिपोर्टसहित)

२०८० भदौ ९ गते २०:४२
संयमताले रोकियो धरानको सम्भावित द्वन्द्व (भिडियो रिपोर्टसहित)

९ भदौ २०८० सुनसरी । स्थानीय प्रशासन र धरानवासीले संयमता अपनाउँदा आज जातीय र धार्मिक द्वन्द्वको सम्भावित दुर्घटना टरेको छ । धरानमा केही व्यक्तिले गोरु बध गरेर मासु खाएकोभन्दै आक्रोशित हिन्दुवादीले आज धरानमा प्रर्दशन आयोजना गरेका थिए ।

प्रदर्शनविरुद्ध धरानका जातीय घटकले ुकाउन्टरु प्रदर्शन गर्ने योजना बनाएका थिए । प्रदर्शन हिंसात्मक हुने देखिएपछि शुक्रबार नै प्रशासनले निषेधाज्ञा लगायो । राजनीतिक दल, पूर्व र वर्तमान मेयरले विज्ञप्ति जारी गर्दै संयमता अपनाउन भनेपछि सम्भावित दुर्घटना हाललाई टरेको छ ।

१४ जनाले ज्यान गुमाउँदै डेंगुको इपिसेन्टर बनेको धरानमा राज्यको ध्यान गएको छैन । तर, यहीबीच धरानमा केही साताअघि गोरु बध गरेर सामुहिक भोज गरेको भिडियो सार्वजनिक भएपछि विवाद उत्पन्न भएको थियो ।

मुलुकी अपराध संहिता ऐन २०७४ को परिच्छेद २७ ले पशुपक्षीसम्बन्धी विभिन्न कसुरलाई अपराध मानी दण्डनीय बनाएको छ । सोही परिच्छेदको दफा २८९ मा आफ्नो प्रतिरक्षामा बाहेक गाई, गोरु मार्न वा कुटपिट गर्न नहुने भनिएको छ । यदी कसैले गाई वा गोरु मार्ने वा कुनै चोट पुर्‍याउने नियतले कुनै काम गरेमा वा सो कार्यबाट गाई वा गोरु मर्न गएमा सो कसुर गर्ने व्यक्तिलाई ३ वर्षसम्म कैद भनी गाई गोरु मार्ने कार्यलाई कानुनतः दण्डनीय बनाएको छ ।

धरानमा गोरु काटेर खाएको विषय धरानेका लागि नौलो नभएपनि गोरु काटेर सामाजिक सञ्जालमा भिडियो सार्वजनिक बनेको विषय हिन्दुवादीले चुनौती ठाने त्यसपछि वादप्रतिवाद सुरु भयो । यसको विरोधमा हिन्दु पक्षधर संघसंस्थाहरू उत्रिए ।

विभिन्न आदिवासी जनजाति घटकले पनि काउन्टर विज्ञप्ति निकाले । त्यही क्रममा हिन्दु धर्म गुरुले भदौ ९ मा विशाल प्रदर्शन गर्ने भन्दै विभिन्न जिल्लाबाट समेत धरानमा प्रदर्शनका लागि आउन आह्वान गरे । सद्भाव र्‍याली भनेपनि दुवै पक्ष मुठभेडको मनस्थितिमा थिए । मेयर हर्क साम्पाङले धरानमा आएर प्रदर्शन नगर्न भनेपछि हिन्दुवादी थप आक्रोशित थिए ।

यसैलाई ध्यानमा राख्दै शुक्रबार जिल्ला प्रशासन कार्यालय सुनसरीले डेंगु नियन्त्रण गर्ने संक्रामक रोग ऐन २०२० को आवरणमा सम्भावित धार्मिक द्वन्द्व रोक्न निषेधाज्ञा जारी गरेपछि भने झगडा टरेको बुझिएको छ । तर, यसले उग्र रुप लिने भय भने कायम छ ।

हिन्दुवादी आक्रोशित हुनुमा गोरुको बध गरेको विषय मात्रै जोडिएको छैन । केही समयअगाडि मात्र मन्दिरको सामुन्ने चर्च बनेसँगै दुई धार्मिक समुदायबीच विवाद बढेको थियो । सुरक्षा संयन्त्रले पनि चर्च प्रकरणपछिको यो विस्तारित रूप भएको निष्कर्ष निकालेको छ । राजनीतिक दल, धराने समुदाय र प्रशासनको सुझबुझ पूर्ण निर्णयले तत्कालका लागि धार्मिक द्वन्द्व हुनबाट रोकिएको छ । सामाजिक सद्भाव कायम राख्दै शान्तिपूर्ण समाज बनाउन सबै पक्ष जिम्मेवार हुनुपर्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *