Main News

अमेरिकी सांसद र अधिकारीहरु नेपाल आउँदै

हिमालय टिभी
२०८० भदौ ९ गते १४:४५
अमेरिकी सांसद र अधिकारीहरु नेपाल आउँदै

९ भदौ २०८० काठमाडौं । नेपालमा अमेरिकी सांसद तथा अधिकारीहरुको आगमन बढेको छ । सेप्टेम्बरमा अमेरिकी सिनेटर क्रिस भ्यान होलेनको टोली काठमाडौं उत्रिने तयारीमा छ ।

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी कार्यान्वयनको तहमा जानै लाग्दा अमेरिकी अधिकारीहरुको काठमाडौं दौड बढेको छ । सेप्टेम्बर पहिलो साता नेपाल भ्रमणमा आउन लागेका सिनेटर भ्यान होलेन सिनेटको वैदेशिक मामिला तथा एप्रोप्रिएसन कमिटीका सदस्य हुनुहुन्छ ।

नेपाल भ्रमणको क्रममा उहाँले सरकारी अधिकारी, युवा नेता, सांसद, नागरिक समाजका प्रतिनिधि, गैरनाफामूलक संस्थाका प्रतिनिधि र व्यवसायीसँग भेट गर्ने कार्यक्रम रहेको छ । उहाँले एमसीसीसहित अमेरिकी सहयोगमा सञ्चालित परियोजना र स्थानीय सांस्कृतिक महत्वका क्षेत्रमा भ्रमण गर्नुहुनेछ ।

उहाँले नेपालमा अमेरिकी सहयोगबारेमा समेत छलफल हुनेछ । अमेरिकाले पछिल्लो समय स्वास्थ्य क्षेत्र र विद्युत तथा यातायात पूर्वाधारमा लगानीको आधार तय गर्न चाहेको छ । भ्यान होलेनको भ्रमण यसमै केन्द्रित हुने उहाँको सचिवालयले विज्ञप्तीमार्फत उल्लेख गरेको छ ।

उहाँले विभिन्न विषय र सामूहिक सुरक्षाको चासोका विषयमा समेत छलफल गर्ने बताइएको छ । श्रीलंका हुँदै नेपाल आउने र माल्दिभ्स पुग्ने कार्यतालिका बनाएका भ्यान होलेनले ५० भन्दा बढी बैठकमा सहभागी हुने बताइएको छ ।

नेपालीलाई टेम्पोरेरी प्रोक्टेक्टेड स्टाटस अर्था अस्थायी सुरक्षा अवस्था मार्फत अमेरिकामा स्थायी बसोबासका लागि विधेयक तयार पार्ने काम सिनेटर भ्यान होलेनले गर्नुभएको थियो । होलेन मात्र होइन त्यसपछि एमसीसीका उच्चअधिकारी पनि परियोजना कार्यान्वयनका लागि आउने तयारीमा छन् । त्यसबाहेक गत साउन २५ गते अमेरिकी राष्ट्रपतिबाट नियुक्त भ्रष्टाचार विरोधी उच्चस्तरीय सरकारी अधिकारी पनि काठमाडौं आएका थिए ।

अमेरिकी कोअर्डिनेटर अन ग्लोबल एन्टी करप्सन सीजेएपीका प्रमुख रिचर्ड नेफ्यू दुईदिने भ्रमणका लागि काठमाडौं आइपुग्नुभएको थियो । यहाँ रहँदा उहाँले अख्तियार दुरुपयोग अनुसन्धान अयोगका प्रमुख प्रेमकुमार राई, प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबी प्रमुख किरण बज्राचार्य लगायतसँग छलफल गर्नुभएको थियो ।

रिचर्डपछि साउनको अन्तिममा कंग्रेस सदस्य माइकल जर्ज वाल्ज नेतृत्वको टोलीले पनि नेपाल भ्रमण गरेको थियो । पूर्वसैनिक अधिकारी जर्ज कंग्रेसमा रिपब्लिक पार्टीबाट प्रतिनिधित्व गर्नुहुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *