Main News

धरानमा निषेधाज्ञा, सुनसरीमा प्रदर्शन

हिमालय टिभी
२०८० भदौ ९ गते १३:०५
धरानमा निषेधाज्ञा, सुनसरीमा प्रदर्शन

९ भदौ २०८० सुनसरी । धरानमा निषेधाज्ञा जारी भएपछि विभिन्न हिन्दू धार्मिक संघसंस्थाले स्वधर्मको रक्षा आह्वान गर्दै इटहरीबाहिर शान्तिपूर्ण र्‍याली निकालेका छन् ।

हिन्दू धर्मका अगुवाहरूको नेतृत्वमा निस्केको र्‍यालीमा ठूलो संख्यामा सर्वसाधारणको सहभागिता छ । गोवंश तथा स्वधर्म संरक्षणका लागि सद्भाव र्‍याली निकालिएको हो ।

र्‍यालीमा सहभागीहरुले स्वधर्मको रक्षा र सद्भावको आह्वान गर्दै हिन्दू धर्मका विभिन्न संघसंस्थाले शान्ति र्‍याली निकालेका हुन् । र्‍याली तरहराको पानीपियासम्म पुगेर निषेधाज्ञा लगाइएको स्थानमा धर्ना दिने कार्यक्रम रहेको छ ।

उता धरानमा जारी निषेधाज्ञापछि नगर प्रवेशमा कडाइ गरिएको छ ।

आजका लागि तय हिन्दू धर्मका विभिन्न संघसंस्थाको र्‍यालीका कारण सम्भावित झडपको जोखिम रोक्न भन्दै स्थानिय प्रशासनले नगर प्रवेशमा कडाइ गरेको छ। धरान भित्रने र बाहिरिने सम्पूर्ण सवारी साधनमा रोक लगाइएको छ ।

धरान प्रवेश गर्ने सबै नाकामा चेकजाँचमा कडाइ गरिएको छ । निषेधाज्ञाका कारण लामो दुरीबाट धरान जाने यातायात इटहरीको पानीपिया क्षेत्रमै रोकिएका छन् । केही दिन अघि एक समुहले गोरु काटेर खाए पछि सो क्षेत्र तनावग्रस्त बन्दै आएको छ। निषेधाज्ञाका कारण बजारको चलपहल कम भएको छ ।

पछिल्लो समय जातीय र धार्मिक तनाव बढिरहेका बेला सम्भावित हिंसा रोक्न प्रशासनले धरान उपमहानगरपालिका क्षेत्रभित्र धर्ना, जुलुस, सभा, भेलालगायतका गतिविधि गर्न नपाउने गरी निषेधाज्ञा जारी गरेको हो ।

धरान उपमहानगरपालिकाको सबै क्षेत्रमा लागू हुने गरी गएराति १२ बजेदेखि भरे राति १२ बजेसम्मको लागि निषेधाज्ञा जारी गरिएको हो ।

यता धरानका सबै राजनीतिक दलहरूले पनि सामाजिक सद्भाव कायम गर्न र द्वन्द्वको वातावरण अन्त्य गर्न सबै पक्षलाई अपिल गरेका छन् ।

विभिन्न सङ्घसंस्था र नागरिक समाजले पनि सामाजिक सद्भाव र एकताको लागि पहल गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *