Main News

धरानमा २४ घण्टे निषेधाज्ञा जारी, सद्‍भाव कायम राख्न अपिल (भिडियो रिपोर्टसहित)

२०८० भदौ ८ गते २०:५८
धरानमा २४ घण्टे निषेधाज्ञा जारी, सद्‍भाव कायम राख्न अपिल (भिडियो रिपोर्टसहित)

८ भदौ २०८० सुनसरी । धरानमा सामाजिक सद्भाव विदोलिने चिन्ता सुरु भएसँगै जिल्ला प्रशासन कार्यालय सुनसरीले निषेधाज्ञा जारी गरेको छ । धार्मिक सहिष्णुता भड्किने अवस्थालाई ध्यानमा राखेर प्रशासनले मध्यरात १२ बजेदेखि २४ घण्टाका लागि निषेधाज्ञा जारी गरेको हो ।

सामाजिक अभियन्ता, पूर्वमेयरदेखि वर्तमान मेयरसम्मले सामाजिक सद्भाव कायम गर्न अपिल गरेका छन् । शनिबार हुनसक्ने घटनालाई ध्यानमा राखेर धरानमा चिन्ता र चासो राखिएको छ । सामाजिक सञ्जालमा नकारात्मक टिप्पणी गर्ने मेयर हर्क साम्पाङले पनि सद्भाव कायम गर्न अपील गरेर सकारात्मक सन्देश दिनुभएको छ ।

लाहुरे संस्कृतिको पहिचान बोकेको सुन्दर शहर धरान पछिल्लो समय सामाजिक सञ्जालमा चर्चामा छ । विगतमा सकारात्मक बिषयमा चर्चा पाएको धरान यस पटक भने नकारात्मक टिप्पणीका कारण चर्चामा छ । कतिपय टिप्पणीहरुले धरानमा सामाजिक सदभाव नै खल्बलिने चिन्ता बढाएको छ ।

खास गरी गोरु कटेर भोज गरिएको विषय बाहिरिएसँगै चर्को आलोचना सुरु भएपछि धरानमा सामाजिक सदभाव खल्बलिने चिन्ता बढेको छ । धरानमा सामाजिक सदभाव खल्बलिने चिन्ता बढेको स्वयंम धरान उपमहानगरपालिका मेयर हर्क साङपाङले स्वीकार गर्नु भएको छ । शुक्रवार नगरवासीका नाममा सार्वजनिक अपिल नै जारी गरेर सदभाव कायम गर्न उहाँले आग्रह नै गर्नु परेको छ ।

मेयर साङपाङले दुई दिन अघि मात्रै धरानमा सामाजिक सदभाव बिगार्ने कार्यक्रम गर्न नदिने चेतावनी दिनुभएको थियो । धरानमा गोरु काटिएको बिषयमा हिन्दुधर्मालम्बीहरुले शनिवार शान्तिपूर्ण कार्यक्रमको आयोजना गर्ने घोषणा गरेका थिए ।

उक्त कार्यक्रमलाई नै लक्षित गर्दै कार्यक्रम नै गर्न नदिने चेतावनी दिएका मेयर साङपाङको भनाइलाई लिएर पनि आलोचना भएको थियो । तर, शुक्रबार मेयर सम्पाङ स्थिति भड्किन नदिन गरेको अपिल सह्रानीय छ । उहाँले सद्भाव कायम राख्न भन्नुभएको छ । त्यसअघि चार जना पूर्वमेयर कुमारबहादुर कार्की, तिलक राई, मनोजकुमार मेन्याङ्बो र मिनकुमार सुब्बाले सार्वजनिक अपील गर्दैै सद्भाव कायम गर्न अपिल गर्नुभएको हो ।

स्थिति भड्किन नदिन नागरिकले पनि सचेतना अपनाएको बताएका छन् ।

यता, जिल्ला प्रशासन कार्यालयले कुनैपनि भेला, सभा, सम्मेलन, र्याली नगर्न २४ घण्टाका लागि निषेधाज्ञा जारी गरेको छ । मध्यरात १२ बजेबाट सुरु हुने निषेधाज्ञा शनिबार मध्यरात १२ बजेसम्म कायम रहने छ । यता, राजनीतिक दलका नेताहरुले सद्भाव कायम गर्न आग्रह गरेका छन् ।

शनिबार हिन्दूधर्मालम्बीहरुले प्रदर्शन गर्ने तयारी गरेपछि अर्को पक्षले पनि प्रतिपादको तयारी गरेको सुरक्षा संयन्त्रहरुले ठहर गरेका छन् । सम्भावित घटना हुन नदिन आम नागरिक र सुरक्षाकर्मी गम्भीर हुन जरुरी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *