कोशी प्रदेशमा एमालेको नेतृत्वमा सरकार बन्ने अध्यक्ष ओलीको दाबी
८ भदौ २०८० काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशमा एमालेको नेतृत्वमा सरकार बन्ने दावी गर्नुभएको छ ।
विराटनगर विमानस्थलमा पत्रकारसँग अध्यक्ष ओलीले भदौ १५ पछि कोशी प्रदेशमा एमालेको नेतृत्वमा सरकार बन्ने बताउनुभएको हो । कोशी प्रदेशमा सरकार बन्न ४७ सांसद आवश्यक पर्दछ ।
हाल एमाले र राप्रपा गरेर ४६ सांसद छन् । तर, अध्यक्ष ओलीले भने एमालेको सरकार ५० सांसदको समर्थनमा बन्ने दावी गर्नुभयो ।
यदि नेकपा एकीकृत समाजवादीका चार जना सांसदले फ्लोरक्रस गरेर मत दिएमात्रै ओलीको दावी सम्भव छ । तर हाल एस गठबन्धनमा आबद्ध दल हो । एकीकृत समाजवादीका कोशी संसदीय दलका नेता राजेन्द्र राई एमालेलाई मत दिने सम्भावना नै नरहेको बताउँदै आउनुभएको छ ।
अध्यक्ष ओलीले दावी गरेपनि संसदीय अंकगणित हेर्दा गठबन्धनसँग मात्रै ४७ सांसद संख्या छ । तर, विश्वासको मत लिने बेलामा सो संख्या देखाउन एमालेले उपसभामुखलाई बिदामा बसाएपछि गठबन्धनले सभाध्यक्षको मतलाई प्रयोग गरेको थियो ।
यही कारण एमालेले सभाध्यक्षको मत बदर हुनुपर्ने माग गर्दै दायर गरेको मुद्दामा बिहीबार सर्वोच्च अदालतले प्रारम्भिक सुनुवाइ गर्दै उद्दव थापा नेतृत्वको सरकारलाई कामचलाउ बनाइदिएको छ । अध्यक्ष ओलीले थापाले सत्ता गठबन्धनका शीर्ष नेताकै दबाबमा गैरसंवैधानिक कदम चालेको टिप्पणी समेत गर्नुभयो ।
सर्वोच्चको आदेशसँगै थापा नेतृत्वको सरकार कामचलाउमा परिणत भएको छ भने अदालतले विश्वासको मत लिँदाको सक्कल फाइल पेस गर्न भनेको छ । अर्को सुनुवाई भदौ १५ का लागि तोकिएको छ । १५ गते थापाले विश्वासको मत लिनुपर्ने अन्तिम दिन हो ।
प्रतिक्रिया