Main News

विभिन्न चार जलविद्युत परियोजनाका लागि ३६ अर्ब ३७ करोड लगानी स्वीकृत

हिमालय टिभी
२०८० भदौ ८ गते १३:०९
विभिन्न चार जलविद्युत परियोजनाका लागि ३६ अर्ब ३७ करोड लगानी स्वीकृत

८ भदौ २०८० काठमाडौं । लगानी बोर्डले चारवटा जलविद्युत् परियोजनाका लागि ३६ अर्ब ३७ करोड रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको छ ।

प्रधानमन्त्री एवं लगानी बोर्डका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा आज बसेको बोर्डको ५५औं बैठकले चारवटा जलविद्युत् परियोजनाका लागि कुल ३६ अर्ब ३७ करोड रुपैयाँ बराबरको लगानी स्वीकृत गर्ने निर्णय गरेको हो ।

रोल्वालिङ खोला, छुजुङ्ग खोला, दाना खोला र सानीभेरी जलविद्युत परियोजना निर्माण गरिनेछ । यस्तै बैठकले तमोर जलाशययुक्त जलविद्युत परियोजना कार्यान्वयन अघि बढाउने सम्बन्धमा भावी कार्यदिशासम्बन्धी सुझाव पेश गर्न उच्चस्तरीय समिति गठन गर्ने निर्णय गरेको छ ।

त्यस्तै, दाङको राजपुर गाउँपालिकामा २ सय ४५ मेगावाट र २० मेगावाट ब्याट्री क्षमताको सौर्य ऊर्जा परियोजनाको अध्ययनका लागि डोल्पा हिमालयन इनर्जीलाई अध्ययन अनुमतिपत्र दिने निर्णय गरेको छ ।

साथै, बाँकेको कोहलपुर र कपिलवस्तुको वाणगंगामा २५० मेगावाटको सौर्य ऊर्जा विकासका लागि अध्ययनकर्ता राइजन इनर्जीबाट पेस भएको विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन ग्रहण गरिएको छ ।

आगामी दिनमा जलविद्युत् परियोजनाहरूको लागत निर्धारण गर्दा ब्यांकेबल हुने गरी थप अध्ययन तथा विश्लेषण गर्न प्रधानमन्त्रीले निर्देशन समेत दिनुभएको छ ।

यस्तै बैठकले माथिल्लो कर्णाली जलविद्युत् परियोजनाको सम्बन्धमा सर्वोच्च अदालतबाट जारी भएको निर्देशनात्मक आदेश कार्यान्वयनका लागि मन्त्रिपरिषद् समक्ष प्रस्ताव पेश गर्ने निर्णय गरेको पनि छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *