Main News

सुन तस्करी प्रकरण छानबिन गर्न उच्चस्तरीय समिति बनाउने सहमति

हिमालय टिभी
२०८० भदौ ५ गते ९:४२
सुन तस्करी प्रकरण छानबिन गर्न उच्चस्तरीय समिति बनाउने सहमति

५ भदौ २०८० काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले बोलाउनुभएको दोस्रो दिनको सर्वदलीय बैठकमा सुन तस्करी प्रकरण छानबिनका लागि उच्चस्तरीय समिति बनाउने सहमति भएको छ ।

सोमबार साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकमा सुन तस्करी प्रकरण छानबिन गर्न उच्चस्तरीय समिति बनाउने सहमति भएको प्रमुख प्रतिपक्षी दलका प्रमुख सचेतक पदम गिरीले जानकारी दिनुभयो । उहाँले सुन तस्करीको विषयलाई लिएर उच्चस्तरीय छानबिन समिति बनउने कुरामा सत्ता पक्षले सहमति जनाएको बताउनु भयो । उहाँले उच्चस्तरीय समिति कस्तो बनाउने भन्नेमा सुवास नेम्वाङ, हीतराज पाण्डे र रमेश लेखकको तीन सदस्यीय समिति बनाइएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामीले सुन तस्करीको विषयलाई लिएर उच्चस्तरीय छानबिन समिति बनाउने कुरा राख्यौँ । यसमा सरकारले पनि उच्चस्तरीय छानबिन समिति बनाउने कुरामा तयार छौँ भन्नेकुरा आएको छ । दलका नेताको तर्फबाट पनि सहमति भएको छ । त्यसमा केही ड्राफ्ट गर्नुपर्ने भएको हुनाले, सुवास नेम्वाङ माननीय, हीतराज पाण्डे र रमेश लेखकले ड्राफ्ट तयार पारेर फाइनल रुप दिने र शीर्ष नेताको बैठक बस्ने सहमति भएको छ ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उच्चस्तरीय समिति बनाउने सहमति जुटेको र सहमति ड्राफ्ट गर्ने चरणमा पुगेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सहमति ड्राफ्ट गर्ने चरणमा पुग्यो, सहमति भयो । नेताहलाई जिम्मा दिएको छ । संसद खुल्नेमा विश्वस्त छु ।’

सत्तारुढ दल नेपाली कांग्रेसमा प्रमुख सचेतक रमेश लेखकले छलफल सकारात्मक भएको र सबै विकल्पका बारेमा छलफल भएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘छलफल भएको छ, सकारात्मक छ । सबैकुरा आएका छन् । सबै विकल्पमा सम्भावनामा छलफल भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *