Main News

गृहमन्त्री नारायणकाजी श्रेष्ठ रेड जोनमा (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० भदौ ४ गते २०:५७
गृहमन्त्री नारायणकाजी श्रेष्ठ रेड जोनमा (भिडियो रिपोर्टसहित)

४ भदौ २०८० काठमाडौं । नक्कली शरणार्थी प्रकरणदेखि ललिता निवास जग्गा हिनामिना प्रकरणमा एक्सन लिएका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ अहिले आफै रेड जोनमा पर्नुभएको छ ।

यी प्रकरणमा शंकाको घेरामै परेका कतिपय व्यक्तिको संरक्षण गरेको र कतिपयलाई अनाहकमा पक्राउ गरेको जस्ता आरोप खेप्नुभएका श्रेष्ठ राजनीतिक नेतृत्वबाटै रेड जोनमा पुर्‍याइनु भएको हो ।

नारायणकाजी श्रेष्ठले गत चैत १७ गते गृह मन्त्रालयको जिम्मेवारी पाउँदा नक्कली शरणार्थी प्रकरणमा चार जना पक्राउ परिसकेका थिए । यस प्रकरणमा उनीहरुले दिएको बयानको आधारमा थुप्रै हाई प्रोफाइलहरु पक्राउ परे ।

बहालवाला सचिव टेकनारायण पाण्डे, कांग्रेस नेता एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाण, एमाले नेता एवम् पूर्वउप्रधानमन्त्री टोपबहादुर रायमाझी, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईलगायत शक्तिशाली व्यक्ति पक्राउ पर्नुमा गृहमन्त्री श्रेष्ठको स्पष्ट अडान र भूमिका थियो । यी हाई प्रोफाइल व्यक्तिहरुलाई पक्राउ गर्ने महत्वपूर्ण आधार भनेको पक्राउ परेकाहरुको बयान नै थियो ।

तर यही प्रकरणमा यसैगरी आरोपीहरुले दिएको बयानको आधारमा केही शक्तिशाली नेतापत्नि तथा नेतापुत्रहरु भने पक्राउ परेनन् । केही अडियोका आधारमा पनि पक्राउ परे तर केही मज्जैले जोगिए पनि । कांग्रेस सभापति शेरबहादुर देउवा पत्नि आरजु राणा, खाणपत्नी मञ्जु, एमाले उपाध्यक्ष रामबहादुर थापाका पुत्र प्रतिक तथा बारम्बार नाम मुछिएका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेशलाई संरक्षण प्राप्त भइरह्यो । यसले गृहमन्त्री श्रेष्ठको नियतमाथि प्रश्न उठ्यो ।

गत असार १२ गते नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सीआईबीले भाटभटेनी सुपर मार्केटका संचालक मीनबहादुर गुरुङलाई अचानक पक्राउ गर्यो । डेढ वर्षयता मौन रहेको यो प्रकरण फेरि व्युँत्याउन सम्भवतः गृहमन्त्रीकै सक्रियता थियो भन्न सकिन्छ । त्यसलगत्तै थुप्रै आरोपीलाई प्रहरीले समातिसकेको छ । तर डेढ वर्षअघि सीआईबीले अनुसन्धान सकिएको भनेको र सरकारी वकिलको कार्यालयले अनुसन्धान फेरि गर्नुपर्छ भनेको यो केशमा फेरि पनि गृहमन्त्रीले आफ्ना कयौँ मान्छेलाई जोगाएको र कयौँलाई फसाउने नियतले मात्र पक्राउ गर्न लगाएको आरोप खेपिरहनु भएको छ ।

यसको जल्दोबल्दो दृष्टान्त हो, अधिकांशलाई पक्राउ गरी थुनामा राख्नु र पूर्वप्रधानमन्त्रीद्वय माधव नेपाल र बाबुराम भट्टराईलाई भने घरमै पुगेर स–सम्मान तस्बिर खिचेर बयानको बाहना पूरा गर्नु ।

गत साउन महिनामा त्रिभुवन विमानस्थलको भन्सार कार्यालयले लापरबाही गरी छोडिदिएको सुन राजश्व अनुसन्धान विभागले विमानस्थल बाहिर बरामद गर्यो । यो प्रकरणमा मिलोमतो वा लापरबाही गर्ने भन्सारका कर्मचारीलाई कारबाही गर्नुपर्नेमा गृहमन्त्रीले उनीहरुलाई जोगाउने गरी सरुवा गरिदिनुभयो । यही लहरोले हल्लिएको कृष्णबहादुर महारा नामको पहरोलाई गृहमन्त्रीले अहिले पनि अनुसन्धानको दायरामा ल्याउन सक्नुभएको छैन । तर यो प्रकरणले जुन गति लिएको छ, त्यसले उहाँ कुनै दिन महरामाथि पनि छानबिन चलाउन बाध्य हुनुपर्नेदेखिन्छ ।

यी प्रकरणमा कसैलाई काखा र कसैलाई पाखा गर्दै आउँदा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र स्वयम् पनि नारायणकाजी श्रेष्ठको भूमिकाप्रति सशंकित बनेको छ । सशंकित मात्र होइन कांग्रेस सभापति शेरबहादुर देउवाले त गृहमन्त्रीलाई हटाउन प्रधानमन्त्रीमाथि दबाब बढाइसक्नु भएको छ । देउवाले सर्वदलीय बैठकमै प्रधानमन्त्री र मन्त्री श्रेष्ठको भूमिकामा आक्रोश पोख्नुभएको छ । एमालेले गत असारदेखि नै गृहमन्त्रीको राजीनामा मागिरहेको छ र पछिल्लो सुन प्रकरणयता गृहमन्त्रीको राजीनामा एमालेको बटम लाइन बनेको छ ।

नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा पक्राउ परेका कांग्रेस सांसद सुनिल शर्माले गृहमन्त्रीको राजीनामा मागेको धेरै भइसकेको छ । पुस ११ गते उपप्रधानसहित भौतिक पूर्वाधार मन्त्रीको नियुक्ति पाएर पनि सामान्य मन्त्रालय भन्दै अटेरी गर्दै मन्त्रालय प्रवेश गरेका नारायणकाजी श्रेष्ठ गृहमन्त्री बनेपछि चर्चामा त हुनुहुन्छ तर पछिल्ला प्रकरणमा खेलेको असन्तुलित भूमिकाले आफ्नैहरुबाट रेड जोनमा पर्नुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *