Main News

कोशी प्रदेशका मुख्यमन्त्री थापाले विश्वासको मत लिने प्रस्ताव अन्योलमा

हिमालय टिभी
२०८० भदौ ४ गते १३:०८
कोशी प्रदेशका मुख्यमन्त्री थापाले विश्वासको मत लिने प्रस्ताव अन्योलमा

४ भदौ २०८० मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आज प्रदेशसभा बैठकबाट विश्वासको मत प्रस्ताव अन्योलमा परेको छ ।

साउन १६ गते मुख्यमन्त्री नियुक्त भएका थापाले विश्वासको मत लिनका लागि उपसभामुख सृजना दनुवारले आज दिउँसो १ बजेका लागि प्रदेशसभा बैठक बोलाउनुभएको थियो तर उहाँ आफैं अनुपस्थित हुनभएको छ ।

बैठक अन्योल बनेपछि मुख्यमन्त्रीको विश्वासको मत लिने प्रस्ताव अन्योलमा परेको हो । उपसभामुख दनुवार बिरामी भएको भन्दै आजै काठमाडौं आइपुग्नुभएको छ । उहाँ अनुपस्थित भएपछि उहाँले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठक स्थगित गरिएको थियो भने बैठक दिउँसो १ बजे बस्ने तयारी गरिएको छ । तर, बैठकको अध्यक्षता कसले गर्नेभन्नेबारे टुंगो लागेको छैन ।

दनुवार उपस्थित नभए उहाँले प्रदेशसभा सञ्चालनका लागि गठन भएको अध्यक्ष मण्डलका सदस्यलाई जिम्मेवारी दिनुपर्छ । सभामुख र उपसभामुख नभएको अवस्थामा अध्यक्ष मण्डलका सदस्यले बैठक सञ्चालन गर्नुपर्छ ।

प्रदेशसभा सञ्चालनका लागि सभामुख र उपसभामुखलाई सहयोग गर्न चार सदस्यीय अध्यक्ष मण्डल छ । अध्यक्ष मण्डलका जेष्ठ सदस्य एमाले प्रदेशसभा सदस्य मालती सुब्बा हुनु्हुन्छ । मुख्यमन्त्रीलाई विश्वासको मत पुर्याउनबाट रोक्नका लागि उहाँले अनुपस्थित हुने निवेदन दिनुभएको छ ।

उहाँ पछिको ज्येष्ठ सदस्य राप्रपाका अम्बरबहादुर विष्टले पनि अनुपस्थित हुने बताउनु भएको छ । प्रदेशसभा बैठकमा नेकपा एमाले र राप्रपाले आफ्ना ज्येष्ठ सदस्यलाई संसदमा उपस्थित नहुन निर्देशन दिएका छन् । सोही अनुसार एमालेका ७ र राप्रपाका एक सांसदले जरुरी घरायसी काम परेको भन्दै केही दिन बैठकमा उपस्थित हुन नसक्ने सूचना दिएका छन् ।

उपसभामुख दनुवार, एमाले प्रदेशसभा सदस्य सुब्बा र राप्रपाका विष्ट अनुपस्थित भएमा सत्ता गठबन्धन संकटमा पर्ने छ । उहाँहरू अनुपस्थित हुँदा प्रदेशसभा सञ्चालनको जिम्मा अध्यक्ष मण्डलमा रहेका सत्ता गठबन्धनकै प्रदेशसभा सदस्यको हुनेछ । सत्ता गठबन्धन बाहेकका सांसदले बैठकको अध्यक्षता गर्ने अवस्था नआए आजको बैठक स्थगित हुने सम्भावना छ ।

९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत चाहिन्छ । मुख्यमन्त्री थापाको नेतृत्वमा रहेको सरकारलाई कांग्रेसका २९, माओवादी केन्द्रका १३, नेकपा एकीकृत समाजवादीका ४ र जसपाको एक गरी ४७ सांसदको समर्थन छ । उहाँको विपक्षमा एमालेका ३९, उपसभामुख बाहेक र राप्रपाको ६ जना सांसद छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *