Main News

कोशीमा १० करोडको अफर, अफवाह कि सत्य ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० भदौ ३ गते २०:३९
कोशीमा १० करोडको अफर, अफवाह कि सत्य ? (भिडियो रिपोर्टसहित)

३ भदौ २०८० विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले भोलि विश्वासको मत लिँदै हुनुहुन्छ । अहिलेसम्मको संसदीय अंकगणित हेर्दा थापासँग स्पष्ट बहुमत छ । तर प्राविधिक रूपमा भने मत पाउनेमा थापा र गठबन्धन अझै ढुक्क छैन ।

त्यसैले त शनिवार राप्रपालाई १० करोड र मन्त्रीको प्रस्ताव गरेको चर्चा बाहिरियो । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले नै सामाजिक सञ्जालमा लेखेर यो सार्वजिनक गरेपछि मुख्यमन्त्री थापाले भने आरोपको खण्डन गर्नुभयो । यद्यपी विश्वासको मत लिन १० करोड र मन्त्री पदको अफर कति सत्य हो भन्ने कुरा रहस्यको गर्भमै छ ।

‘पूर्वमा विश्वासको मत लिने दिनको टुङ्गो भएसँगै खरिदेहरु प्रदेशसभा सदस्यहरूको घरदैलोमा गएर मन्त्री र १० करोडको प्रस्ताव गर्दैछन् भन्ने हल्ला काठमाडौँसम्मै आइपुग्यो त,’

शनिवार राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको स्ट्याटस हो, यो । यसले सोमबार विश्वासको मत लिन गठबन्धनले सांसद किनबेचको शङ्कालाई पश्रय दिएको छ । तर मुख्यमन्त्री उद्धव थापाले भने राप्रपा अध्यक्ष लिङ्देनको भनाइमा कुनै सत्यता नभएको भन्दै आरोपको खण्डन गर्नुभएको छ । कुनै पनि दलका नेता खुलेर बोल्न नचाहेपछि मुख्यमन्त्री थापालाई फोन गर्दा उहाँले बहुमत जुटाइसकेको दलले घटिया राजनीति नगर्ने बताउनुभयो ।

लिङ्देनको स्ट्याटसलाई कपोकल्पित भनिरहेका गठबन्धन दलले हरेक समय विश्वासको मत लिँदा यस्ता आरोप लाग्ने गरेको भन्दै यो घटनालाई सामान्य मानिरहेका छन् । मुख्यमन्त्री र सत्ता गठबन्धनले नकारे पनि संसदमा सोमबार हुने खेलका कारण यो प्रस्ताव नआएको होला भन्न सकिन्न ।

यसबारेमा राप्रपाका सांसदलाई बुझ्न खोज्दा कुनै पनि सांसद सम्पर्कमा आएनन् । राप्रपा संसदीय दलका नेता भक्ति सिटौला भारत हुनुहुन्छ भने अन्य सांसदलाई सम्पर्क गर्दा अधिकांश विराटनगर बाहिर छन् । यसको अर्थ सोमबारको बैठकमा अनुपस्थित हुने राप्रपाले निर्णय गरिसकेको छ । जसलाई राप्रपा सांसद अम्बरबहादुर विष्टले पुष्टि गर्नुभएको छ ।

सबै घटनाक्रमले सोमबारको बैठक बस्नेमा शंका छ । किनकी नेकपा एमालेबाट निर्वाचित उपसभामुख सिर्जना दनुवार उक्त दिन गठबन्धनलाई बहुमत पुर्‍याउन नदिन र अध्यक्षता गठबन्धनबाटै हुने परिस्थिति निर्माण गर्न अनुपस्थित हुने सम्भावना छ ।

सभामुख पद रिक्त रहेको र उपसभामुख अनुपस्थित भएको अवस्थामा प्रदेशसभाको अध्यक्षता अध्यक्ष मण्डलले गर्नुपर्ने छ । कोशी प्रदेशसभा नियमावली २०७४ (पहिलो संशोधन)को नियम ११ मा अध्यक्ष मण्डलका सदस्यको मनोनयन गर्ने सम्बन्धी व्यवस्था गरिएको छ ।

जसको उपनियम (१) मा सभामुखले आफू तथा उपसभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न समय–समयमा बढीमा पाँच जना सदस्यहरूलाई मनोनित गर्न सक्नेछ भन्ने उल्लेख छ । यस्तै उपनियम (२) मा उपसभामुख तथा उपनियम (१) बमोजिम मनोनयन गरिएको सदस्यले अध्यक्षता गरिरहेको बैठकमा सभामुखले प्रयोग गर्न पाउने सबै अधिकार प्रयोग गर्न सक्ने उल्लेख छ ।

सोही व्यवस्था अनुसार कोशी प्रदेशसभाको अध्यक्ष मण्डलमा उमेरले राप्रपाका अम्बरबहादुर विष्ट, एमालेकी मालती सुब्बा, नेपाली कांग्रेसका इस्राइल मन्सुरी र माओवादी केन्द्रकी गीता तिम्सिना छन् । उपसभामुख दनुवार अनुपस्थित रहेको अवस्थामा सोही अध्यक्ष मण्डलमध्यबाट एक जनाले प्रदेशसभाको अध्यक्षता गर्ने छन् ।

प्रदेशमा एमालेको ४०, कांग्रेसको २९, माओवादी केन्द्रको १३, राप्रपाको ६, नेकपा एकीकृत समाजवादीको ४ र जसपाको १ सांसद गरी ९३ सांसद छन् । बहुमतका लागि कम्तीमा ४७ सांसद आवश्यक पर्छ । एमाले र राप्रपा एकातिर हुँदा पनि ४६ र इतर दलका सबै सांसद जोड्दा ४७ सांसद छन् । एक मत मात्रै कम भएपनि थापाको सरकार ढल्ने छ । यही सरकार ढाल्ने योजना अनुसार राप्रपा सांसद त बिदा बसिसके । अब एमाले र उपसभामुखले के गर्ला ? त्यसका लागि सोमबार पर्खनैपर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *