प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठविरुद्ध उजुरी दिनेहरुसँग संसदीय समितिले भोलि छलफल गर्ने

३ भदौ २०८० काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको संसदीय सुनुवाइ भोलिदेखि शुरु हुने भएको छ ।
संसदीय सुनुवाइ समितिले भोलि उजुरीकर्तासँग छलफल गर्ने र त्यसलगत्तै श्रेष्ठसँग पनि छलफल गर्ने भएको हो ।
समितिको आज बसेको बैठकले प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठविरुद्ध उजुरी दिएकाहरुसँग भोलि छलफल गर्ने निर्णय गरेको समितिका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले जानकारी दिनुभयो ।
प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले उमेर हदका कारण गत साउन २० गते अवकाश पाएपछि नयाँ प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढेको हो । गत साउन १८ गते बसेको संवैधानिक परिषद् बैठकले सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश श्रेष्ठलाई प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको थियो ।
साउन २३ गते बसेको समितिको बैठकले श्रेष्ठविरुद्ध १० दिनको म्याद दिएर उजुरी आह्वान गरेको थियो । समितिले तोकेको १० दिनको समयमा तीन वटा उजुरी परेको छ। समितिले श्रेष्ठको नाम अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्नु हुनेछ ।
प्रतिक्रिया