ललिता निवास प्रकरणमा आफूविरुद्ध नाटकीय प्रचारबाजी भएको डा. भट्टराईको दाबी
२ भदौ २०८० काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले ललिता निवास जग्गा प्रकरणलाई लिएर आफूविरुद्ध नाटकीय प्रचारबाजी भएको बताउनुभएको छ ।
सामाजिक सञ्जालमार्फल भट्टराईले ललिता निवासको जग्गा प्रकरणमा आफूलाई जर्बजस्ती मुछेर अपराधी झैँ दुष्प्रचार गरिएको बताउनुभएको हो । उहाँले आफूलाई मुछेपछि सोधपुछ र छानबिन नगरिएको र उल्टै उन्मुक्ति दिने नाटकीय प्रचारबाजी भएको उल्लेख गर्नुभएको छ ।
भट्टराईले आफूले उन्मुक्तिका लागि कुनै याचना नगरेको तर कसैले सोधपुछ नगरेको समेत बताउनुभयो। छानबिनका लागि हर तरहको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै उहाँले विवेक प्रयोग गरेर निष्कर्षमा पुग्न पनि अनुरोध गर्नु भएको छ ।
सर्वोच्च अदालतले साउन २१ गते मन्त्रिपरिषदको निर्णय तथा कार्य प्रमाणित गरी कार्यान्वयन गर्ने तहमा संलग्नहरुमाथि अनुसन्धान गर्न आदेश दिएको थियो । तर राजनीतिक दबाब पछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र भट्टराईको बयान समेत नलिइ फाइल बुझाउने तयारी गरेको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यसअघि बुझाएको ललिता निवास प्रकरणसँग जोडिएको भ्रष्टाचार सम्बन्धी मुद्दामा भने नेपाल र भट्टराईको बयान समेटिएको थियो ।
प्रतिक्रिया