Main News

एआईजीहरुको सरुवा, कसलाई कहाँ पठाइयो ?

हिमालय टिभी
२०८० भदौ २ गते १३:०४
एआईजीहरुको सरुवा, कसलाई कहाँ पठाइयो ?

२ भदौ २०८० काठमाडौं । प्रहरी अतिरिक्त महानिरीक्षक एआईजीहरुको सरुवा भएको छ ।

मन्त्रिपरिषद् बैठकले उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख श्यामलाल ज्ञवालीसहितका एआईजीहरुलाई सरुवा गरेको हो ।

ज्ञवालीलाई सरुवा गर्न सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री नारायणकाजी श्रेष्ठ समक्ष दबाब दिएको खबर सार्वजनिक भएको थियो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरले थप जाहेरी लिएर दोस्रो चरणको अनुसन्धान थाल्न लागेका बेला उहाँको सरुवा भएको हो । ज्ञवालीको उपत्यका प्रहरी कार्यालयमा सरुवा भएको साढे ४ महिना मात्र भएको थियो ।

उपत्यका प्रहरी प्रमुखमा प्रशासन विभागका प्रमुख दिपक थापाको सरुवा भएको छ । प्रशासनमा एआईजी मिरा चौधरीको सरुवा भएको छ । चौधरी कार्य विभागमा कार्यरत हुनुहुन्थ्यो । त्यहाँ एआईजी श्याम ज्ञवालीलाई पठाइको छ ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका प्रमुख एआईजी टेकप्रसाद राईको मानवस्रोत विभागमा सरुवा भएको छ । मानवस्रोतका प्रमुख सन्दीप भण्डारी राईको स्थानमा पठाइएका छन् ।

राईले आफूलाई छोटो समयमा विना कारण हटाउन खोजिएको भन्दै यसअघि नै प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरसँग असन्तुष्टि व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *