संसद अवरोधको मुख्य कारक सरकार रहेको एमालेको आरोप (भिडियो रिपोर्टसहित)
![संसद अवरोधको मुख्य कारक सरकार रहेको एमालेको आरोप (भिडियो रिपोर्टसहित)](https://www.himalayatv.com/wp-content/uploads/2023/08/mahesh-bartaula.jpg)
२ भदौ २०८० काठमाडौं । नेकपा एमालेका सचेतक महेश बर्तौलाले संसद अवरोधको मुख्य कारक सरकार र गठबन्धन भएको आरोप लगाउनुभएको छ ।
बुटवलमा आज पत्रकार भेटघाट कार्यक्रममा नेता बर्तौलाले जनताबाट चुनिएका सांसदहरुले संसदमा आफ्ना माग राख्दा प्रतिपक्षले संसद अवरोध गर्यो भनेर सरकार र गठबन्धनले भ्रम फैलाएको बताउनुभएको हो ।
उहाँले संसदमा उठेका विषयलाई सरकारले नजरअन्दाज गरेर गैरजिम्मेवार बन्न नमिल्ने भन्दै संसद खुलाउने जिम्मेवारी र दायित्व सरकारको हुने दावी गर्नुभयो ।
संसदमा प्रतिपक्षको विशेष अधिकार हुनेभएपनि प्रतिपक्षी दलका सांसद बोल्दा सत्ता पक्षले दादागिरी गरेर संसदीय मूल्यमान्यताको धज्जी उडाएको उहाँको आरोप छ ।
सुन तस्करी,ललिता निवास, भुटानी शरणार्थी, गौर हत्याकाण्ड लगायतका प्रकरणहरुमा प्रधानमन्त्रीले सत्ता साझेदार दलका नेताहरुलाई पालैपालो फाइल खोल्छु भनेर धम्काएर सत्ताको आयु लम्बाउने काम गरिरहेको बर्तौलाले आरोप छ ।
सरकारको नेतृत्वकर्ता दल र प्रधानमन्त्रीबाट संसदीय मूल्यमान्यता र संविधानमाथि प्रहार हुँदा संसदको ठूलो दल नेपाली कांग्रेस समेत मुकदर्शक बनेको उहाँको तर्क छ ।
प्रतिक्रिया