Main News

कोशी प्रदेशका मुख्यमन्त्रीले भदौ ४ गते विश्वासको मत लिने

हिमालय टिभी
२०८० भदौ १ गते १७:३६
कोशी प्रदेशका मुख्यमन्त्रीले भदौ ४ गते विश्वासको मत लिने

१ भदौ २०८० काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले भदौ ४ गते विश्वासको मत लिनुहुने भएको छ ।

मुख्यमन्त्री थापाले भदौ ४ गते दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिने संसद सचिवालयले जनाएको छ ।

थापाले भदौ ३ गते विश्वासको मत लिने व्यवस्था मिलाइदिन प्रदेश सभामा सूचना दर्ता गराए पनि उपसभामुख सृजना दनुवारले ४ गतेका लागि तोक्नु भएको हो ।

तत्कालीन सभामुख बाबुराम गौतमको हस्ताक्षरले बहुमत पुर्‍याएर असार २१ गते मुख्यमन्त्री नियुक्त भएका कांग्रेस नेता उद्धव थापाको पद सर्वोच्च अदालतको आदेशले खारेज भएको थियो ।

त्यसपछि सभामुखबाट गौतमलाई राजीनामा गराएर थापा बहुमत सदस्यको हस्ताक्षर पुर्‍याएर साउन १६ गते मुख्यमन्त्री नियुक्त हुनुभयो । मुख्यमन्त्री थापालाई भदौ १३ गतेभित्र प्रदेशसभाबाट विश्वासको मत लिइसक्नुपर्ने बाध्यात्मक अवस्था छ ।

९३ सदस्यीय प्रदेशसभामा गठबन्धन दल कांग्रेसका २९, नेकपा माओवादी केन्द्रका १३, एकीकृत समाजवादीका ४ र जसपाका एक गरी ४७ सांसद छन् । एमालेका ४० र राप्रपाका ६ गरी ४६ सांसद प्रतिपक्षमा छन् ।

उपसभामुख दनुवारले प्रदेशसभाको अध्यक्षता गरिदिएको अवस्थामा मात्रै सत्ता गठबन्धनले बजेटको प्रतिस्थापन विधेयक र विश्वासको मत लिन सभामा बहुमत सिद्ध गर्न सक्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *