Main News

नेपाल र भट्टराईको बयान नै नलिइ प्रतिवेदन बुझाउने सीआईबीको तयारी

हिमालय टिभी
२०८० भदौ १ गते १७:३२
नेपाल र भट्टराईको बयान नै नलिइ प्रतिवेदन बुझाउने सीआईबीको तयारी

१ भदौ २०८० काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा प्रकरणमा पूर्व प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईसँग सोधपुछसमेत प्रतिवेदन तयार गर्ने भएको छ ।

सरकारी वकिलको कार्यालय, काठमाडौंले आजसम्म अनुसन्धान प्रतिवेदन बुझाउन सीआईबीलाई ताकेता गरेको छ । त्यसअनुसार प्रहरी प्रतिवेदन लेखनको अन्तिम तयारीमा जुटेको छ । तर, प्रतिवेदन बुझाउने अन्तिम दिनसम्म पनि पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईसँग बयान समेत लिइएको छैन ।

सीआईबीले आइतबारसम्म प्रतिवेदन बुझाउने तयारी गरेको छ । तत्कालीन पूर्वप्रधानमन्त्री नेपाल र भट्टराईलाई उन्मुक्ति दिएको भन्दै प्रश्न उठेका बेला सर्वोच्च अदालतले साउन २१ मा मन्त्रिपरिषदको निर्णय तथा कार्य प्रमाणित गरी कार्यान्वयन गर्ने तहमा संलग्नहरुमाथि अनुसन्धान गर्न आदेश दिएको थियो ।

ललिता निवास प्रकरणको अनुसन्धानमा संलग्न अधिकृतहरु पनि पूर्वप्रधानमन्त्रीद्वयको बयान लिन प्रश्नावली तयार गरेर बसेका थिए । तर, सोमबार बेलुकी बसेको सत्ता गठबन्धन बैठकपछि प्रहरी नेतृत्व पूर्ववत् निर्णयबाट पछि हटेको हो ।

प्रहरीले बाबुराम भट्टराई नेतृत्वको सरकारले गरेको पशुपति टिकिन्छा गुठी सम्बन्धी मन्त्रिपरिषद्को निर्णय प्रमाणीकरण गरी तल्ला निकायहरुमा कार्यान्वयनका लागि पठाउने पूर्वमुख्यसचिव लीलामणि पौड्याललाई भने ब्यूरोमा बोलाएरै बयान लिइसकेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यसअघि बुझाएको ललिता निवास प्रकरणसँग जोडिएको भ्रष्टाचार सम्बन्धी मुद्दामा भने नेपाल र भट्टराईको बयान समेटिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *