Main News

संसद अवरोध हटाउने विषयमा प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता

हिमालय टिभी
२०८० भदौ १ गते १३:०१
संसद अवरोध हटाउने विषयमा प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता

१ भदौ २०८० काठमाडौं । संसद्को अवरोध हटाउनेबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेबीच छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच छलफल भएको हो ।

सभामुख घिमिरेले सदन नचल्दा जनताले समेत राम्रो नमालेकाले अवरोध हटाउन भूमिका निर्वाह गर्न प्रधानमन्त्रीलाई आग्रह गर्नुभयो । कम्तिमा सदन खुलाउन सत्तापक्ष र प्रतिपक्षले गम्भीरतापूर्वक छलफल गर्नुपर्ने सभामुखको आग्रह थियो ।

त्यस्तै सभामुखले संसदीय समितिको नेतृत्व चयन नहुँदा कानुन निर्माण हुन नसकेको बताउँदै प्रधानमन्त्रीलाई भूमिका निर्वाहका लागि ध्यानाकर्षण गराउनु भएको सभामुखको सचिवालयले जनाएको छ । प्रधानमन्त्री प्रचण्डले सदनको अवरोध हटाउन प्रतिपक्षी दलका नेतासँग छलफल गर्ने बताउनु भयो ।

संसद् अवरोध भएपछि सभामुख घिमिरेले यसअघि प्रधानमन्त्री प्रचण्डसँग एकल र समूहगत गरी पाँचपटक छलफल गरिसक्नु भएको छ ।

६० किलो सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गरिनुपर्ने अडान राख्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसद् अवरोध गर्दै आइरहेको छ । एमालेको अवरोधका कारण साउन १० गतेदेखि संसद् चलेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *