Main News

६० किलो सुन तस्करी प्रकरणमा थप दुई जना चिनियाँ नागरिक पक्राउ

हिमालय टिभी
२०८० भदौ १ गते १२:५२
६० किलो सुन तस्करी प्रकरणमा थप दुई जना चिनियाँ नागरिक पक्राउ

१ भदौ २०८० काठमाडौं । ६० किलो सुन बरामद प्रकरणमा थप दुई जना चिनियाँ नागरिक पक्राउ परेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले अनुसन्धानका क्रममा काठमाडौंबाट गएराति चिनिया नागरिक याओ फुछङ् र ली वन् सुङ पक्राउ परेका हुन ।

हालसम्म पक्राउ परेकामध्ये उनीहरु सबैभन्दा उच्च तहमा काम गर्ने व्यक्ति भएको प्रहरीले जनाएको छ । प्रहरीले गएको बिहीबार पनि चार जना चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो ।

उनीहरुमध्ये डिङ सेल्फा र ली नेङ्काई सुन ओसारपसारमा संलग्न व्यक्ति भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । प्रहरीले ललितपुरको डाउन टाउन अपार्टमेन्टमा छापा मारेर उनीहरुलाई पक्राउ गरेको थियो ।

उनीहरुसँगै बस्ने प्रबन्ध मिलाइदिने ठमेलस्थित केटीबी काराओके रेष्टुरेन्टका दुई सञ्चालक पनि हिरासतमा छन् । रेष्टुरेन्ट ठमेलको होटल भियना नजिकै छ । राजश्व अनुसन्धान विभागले भन्सार जाँचपास कटेर बाहिरिएको सुनसहितको १५५ किलो ‘ब्रेक शु’ साउन ३ गते बरामद गरेको थियो ।

१९ दिनसम्म अनुसन्धान गरेर विभागले थप अनुसन्धानको जिम्मा केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीलाई दिएको थियो । प्रकरणमा हालसम्म पक्राउ पर्नेको संख्या २३ पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *