Main News

सक्रिय राजनीतिमा फर्किने पूर्वराष्ट्रपति भण्डारीको योजनामा ओली बाधक ! (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० साउन ३२ गते ७:५२
सक्रिय राजनीतिमा फर्किने पूर्वराष्ट्रपति भण्डारीको योजनामा ओली बाधक ! (भिडियो रिपोर्टसहित)

३२ साउन २०८० काठमाडौं । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी शीतल निवासमै रहँदा पनि एमाले पार्टीको आन्तरिक जीवनमा शक्तिशाली मानिनुहुन्थ्यो । उहाँ निकटले मुख्यमन्त्री र मन्त्रीमा अवसर पाउँथे ।

राष्ट्रपति रहँदा नै पार्टीभित्र सक्रिय भण्डारी पुनः पार्टीमै फर्कने चर्चा पनि छ । त, कतिपयले एमाले अध्यक्ष केपी शर्मा ओलीकै कारण अब विद्याको पुनरागमन असहज ठानेका छन् । के भण्डारी पुनः एमालेमै सक्रिय हुनुहोला ?

नेकपा एमाले भित्र बलियो शक्ति केन्द्र मानिनुहुन्छ, पूर्व राष्ट्रपति भण्डारी । एमालेले अंगिकार गरिररहेको जनताको बहुदलीय जनवादको पारिवारिक उत्तराधिकारीका रुपमा समेत एमालेभित्र जबजका कट्टर पक्षधरहरु विद्यालाई नेता मान्छन् । एमालेका हालका महासचिव शंकर पोखरेल भण्डारी निकट मानिनुहुन्छ ।

उहाँकै जोडबलमा पोखरेल लुम्बिनी प्रदेशको मुख्यमन्त्री बन्नुभयो । पार्टी महासचिवमात्रै होइन, भण्डारीसँग जोडिएका थुप्रै नेताहरु अहिले एमालेको महत्वपूर्ण भूमिकामा छन् । उनीहरु चाहन्छन् भण्डारी पुनस् एमालेमा फर्कनुपर्छ । उपाध्यक्ष विष्णु पौडेलले त केही अघि उहाँकै निवास पुगेर वार्तालाप गर्नुभएको थियो ।

भण्डारी स्वयंको चाहना पनि एमालेमै फर्कने छ । राष्ट्रपतिबाट विदा भएपछि हिमालय टेलिभिजनको यक्ष प्रश्न कार्यक्रममा उहाँले राजनीतिमा आउने र नआउने सम्भावना आधा आधा रहेको बताउनुले पनि त्यही संकेत गर्छ ।

एमालेको गत जेठमा भएको सचिवालय बैठकबाट ७० वर्षे उमेरहदको व्यवस्था हटाएको छ । जससँगै बलियो प्रतिस्पर्धी नभएको एमालेमा पुनः अध्यक्ष बन्नका लागि केपी शर्मा ओलीलाई सहज अवस्था बनाइएको छ । तेस्रो पटक पनि अध्यक्ष हुने बाटो ओलीका लागि खुला भएपछि कतिपयले विद्याका लागि एमालेमा पुनरागनको ढोका बन्द भएको ठानेका छन् ।

राष्ट्रपति भइसक्नुभएकी विद्याले एमालेमा फर्कँने छनक दिएपछि ओली झस्किनुभएको छ । विद्या एमालेमा आउँदा भावी अध्यक्ष र भावी प्रधानमन्त्रीको स्वभाविक दाबेदार बन्नुहुनेछ । सायद त्यसकै प्रभाव हो, अकन्टक अध्यक्ष हुन चाहिरहेका ओलीले भण्डारीमाथि फायर खोल्नुभएको छ । ओली स्वयंले अब राष्ट्रपति जस्ता गरिमामय पद सम्हालिसक्नुभएकी भण्डारी राजनीतिमा नफर्कने घोषणा गरिदिनुभयो ।

एमालेमा लामो समयदेखि एउटै कित्तामा रहेका ओली र भण्डारीबीच अहिले फाटो देखिन थालेको छ । नवौँ महाधिवेशनमा एमालेको अध्यक्षमा ओली निर्वाचित भएसँगै भण्डारीलाई धेरैले उत्तराधिकारीका रूपमा समेत चर्चा गरेका थिए । तत्कालीन समयमा एमालेमा उपाध्यक्ष रहेकी भण्डारीलाई आफ्नो समूहभित्र ओलीपछिको दोस्रो स्थानमा चुनौती दिने सम्भावना कमजोर थियो ।

राष्ट्रपति रहँदा एमाले कार्यकर्ता बनेको आरोप खेप्न तयार भण्डारीका गतिविधिले राष्ट्रपतिको कार्यकालपछि उहाँ एमालेमै सक्रिय हुने अनुमानलाई बल पुर्याएको थियो । एमालेका नेताहरु अहिले १०औं महाधिवेशन आउन ३ वर्ष बाँकी रहेकाले अहिले नै नेतृत्वको चर्चा गर्न हतार हुने तर्क गर्छन् । तर, भण्डारी फर्कने सम्भावनालाई भने उनीहरु पुरै नकार्न सक्दैनन् ।

एमालेभित्र माधव नेपाल र झलनाथ खनाल रहँदा ओलीको बलियो सारथीका रुमपा विद्याको सक्रियता थियो । ओली गुटको मूल व्यवस्थापक नै विद्या हुनुहुन्थ्यो । अहिले पार्टीभित्र विरोधीलाई धपाएर र तर्साएर एकल नेतृत्व कायम गरेका ओली भावी नेतृत्वमा आफ्नै निरन्तरतामा ढुक्क देखिनुहुन्छ ।

ओलीका लागि एमालेभित्रको अहिलेको सहज अवस्था असहजतामा सारथी बनेकी विद्याका लागि एमाले पुनरागमनका लागि बाधक मात्र बनेको छैन, लामो समयको सहकार्यमा समेत ब्रेक लाग्ने भएको छ । यस्तो अवस्थामा विद्यालाई एमालेमै फर्काउने पक्षमा ओली नदेखिँदा विद्याका लागि एमाले पुनरागमनको बाटो असम्भव नदेखिएपनि सहज भने देखिँदैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *