Main News

कोशी प्रदेशसभाका ज्येष्ठ सदस्य गयानन्द मण्डल राज्यमन्त्री नियुक्त

हिमालय टिभी
२०८० साउन ३१ गते १२:५५
कोशी प्रदेशसभाका ज्येष्ठ सदस्य गयानन्द मण्डल राज्यमन्त्री नियुक्त

३१ साउन २०८० मोरङ । कोशी प्रदेशसभाका ज्येष्ठ सदस्य गयानन्द मण्डल उद्योग, कृषि तथा सहकारी राज्यमन्त्री नियुक्त हुनु भएको छ ।

नेपाली कांग्रेसका प्रदेशसभा सदस्य मण्डललाई पद तथा गोपनीयताको शपथ गराइएको छ । प्रदेश प्रमुख परशुराम खापुङको उपस्थितिमा मुख्यमन्त्री उद्धव थापाले मण्डललाई शपथ खुवाउनु भएको हो । कोशी प्रदेश सभामुखविहीन छ ।

सत्तारुढ गठबन्धनले उपसभामुख सृजना दनुवारको राजीनामा आए मण्डलले प्रदेश सभा बैठक सञ्चालन गर्नुपर्ने अवस्थालाई टार्न मण्डललाई राज्यमन्त्री बनाएको हो । उपसभामुखले राजीनामा दिए ज्येष्ठ सदस्य मण्डलले बैठक सञ्चालन गर्नुपर्ने हुन्थ्यो ।

मण्डलले विश्वासको मत लिने बैठकको अध्यक्षता गरे मुख्यमन्त्री थापाले विश्वासको मत पाउने अवस्था थिएन । उपसभामुखले राजीनामा दिएको अवस्थामा प्रदेश सभाको अध्यक्षता एमालेकै ज्येष्ठ सदस्यलाई गराउने गठबन्धन दलको योजना छ । मण्डल ८० वर्ष पुग्नु भएको छ ।

उहाँपछि जेष्ठ सदस्य एमालेका ७२ वर्षीय रोहितबहादुर कार्की हुनुहुन्छ । त्यसपछि पनि एमालेकै मालतीकुमारी लिम्बू, खड्गबहादुर बस्नेत र रामप्रसाद महतो ६८ वर्षका हुनुहुन्छ । सभामुख बाबुराम गौतमले पदबाट राजीनामा दिएसँगै गठबन्धनको बहुमत पुगेपछि कांग्रेसका उद्धव थापा मुख्यमन्त्रीमा नियुक्त भएको थिए ।

मुख्यमन्त्री थापाले भदौ १३ गतेभित्र विश्वासको मत लिइसक्नु पर्छ ।‌ प्रदेशसभाको बैठक भदौ १ गते बोलाइएको छ । ९३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *