Main News

नारायणकाजी श्रेष्ठकाे मत्स्यन्याय : अरुप्रति गरम आफ्नाप्रति नरम ! (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० साउन ३० गते २०:४७
नारायणकाजी श्रेष्ठकाे मत्स्यन्याय : अरुप्रति गरम आफ्नाप्रति नरम ! (भिडियो रिपोर्टसहित)

३० साउन २०८० काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ अहिले निक्कै चर्चामा हुनुहुन्छ । ललिता निवास जग्गा प्रकरण र नक्कली भुटानी शरणार्थी प्रकरणमा भइरहेको छानबिनको विषयले श्रेष्ठ चर्चामा हुनुहुन्छ । तर, उहाँ अरुप्रति गरम देखिँदा आफ्नाप्रति भने नरम देखिँदा श्रेष्ठमाथि प्रश्न उठेको छ । स्टन्टमा रमाउने मन्त्री श्रेष्ठ मत्स्यन्याय गर्दैहुनुहुन्छ ?

गृहमन्त्री नारायणकाजी श्रेष्ठको भाषणमा आजकाल एउटा विषय बारबार दोहोरिइरहेको छ । त्यो हो, भ्रष्टाचारी जो भएपछि छाड्दिन । एकपटक सुनौं उहाँको अभिव्यक्ति ।

श्रेष्ठको चर्को भाषण सुन्दा लाग्छ, उहाँको कार्यकालमा यो देशमा कुनै भ्रष्टाचारी बाँकी रहनेछैनन् । तर, यथार्थ त्यस्तो छैन । एक प्रकारले श्रेष्ठले मत्स्यन्याय नै चलाउनुभएको छ। केही उदाहरण हेरौंः

–नक्कली भुटानी शरणार्थी प्रकरण
नक्कली भुटानी शरणार्थी प्रकरणमा आरोपित बालकृष्ण खाण र टोपबहादुर रायमाझीलाई पक्राउ गरेर बयान लिइयो तर, आशंकामा घेरिएका कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु देउवा र खाण पत्नी मञ्जुलाई सोधपुछसम्म गरिएन ।

–नक्कली शैक्षिक प्रमाणपत्रधारी चिकित्सक
नक्कली भनेर सक्कली चिकित्सक नै पक्राउ गरियो । अरु ७ जना चिकित्सक पनि पक्राउ परे, त्यसमध्ये सुनिल शर्मालाई २४ घण्टामै छोडिदा अरु हिरासतमै छन् ।

–ललिता निवास जग्गा प्रकरण
बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा पूर्वमन्त्रीहरु विजय गच्छदार, डम्बर श्रेष्ठ, चन्द्रदेव जोशी, सञ्जय साहलाई पक्राउ पुर्जी दिइयो तर, नीतिगत निर्णय गर्न कम्मर कस्ने पूर्वप्रधानमन्त्रीहरु माधव नेपाल र बाबुराम भट्टराईमाथि छानबिनसम्म भएन । बरु सर्वोच्च अदालतले छानबिन गर्नुभन्दा पनि पक्राउ गर्ने सुरसार नै छैन । फाइल अघि बढाउने पूर्वमुख्यसचिव लिलामणि पौडेल छानबिनको घेरामा तानिएकै छैनन् ।

–सुन तस्करी प्रकरण
सुन तस्करसँग माओवादी नेता कृष्णबहादुर महराको संवाद भएको खुलिसक्यो । वर्षमान पुनको पनि उठबस देखिन्छ । तर, गृहमन्त्री श्रेष्ठ टेलिफोन कललाई प्रमाण मान्न नमिल्ने भन्दै महरा र पुन जोगाइरहेका छन् । तर, फोन कलकै आधारमा खाणदेखि टेकनाथ रिजालसम्म समातिएका छन् ।

–गौर हत्याकाण्ड
गौर काण्डमा तत्कालीन मधेशी जनाधिकार फोरमका अध्यक्ष उपेन्द्र यादव मुछिदा सरकार नै डगमगाउने भएपछि सत्ता गठबन्धनले नै घटनाको छानबिन नगर्ने निष्कर्ष निकालेको छ ।

यी त केही दृष्टान्त मात्र हुन् । आफ्नालाई जोगाउने र अरुलाई बाँकी नराख्ने श्रेष्ठ शैलीलाई कतिपय स्टन्ट भनेका छन् । भ्रष्टाचार प्रकरणमा चलिरहेको अहिलेको छानबिन र अनुसन्धानलाई कतिपयले पाकिस्तानी मोडलतर्फको यात्राका रुपमा समेत टिप्पणी गर्न थालेका छन् ।

सुन तस्करीजस्तो गम्भीर प्रकरणमा मुछिएका आरोपीको संरक्षण सरकारले नै गरिररहेको छ । अझ उनीहरुलाई छानबिनमा ल्याउनुपर्ने जिम्मेवारी बोकेको गृहमन्त्री त संरक्षककै रुपमा उभिनुभएको छ । चौतर्फी प्रश्नको घेरामा परेका कृष्णबहादुर महराले मंगलबार दाङमा अनुसन्धानमा सघाउन आफु तयार रहेपनि सरकारले नबोलाएको गुनासो पोख्नुभयो ।

यसले थप प्रष्ट हुन्छ, महरामाथिको छानबिन अरु कसैले रोकेको होइन, गृहमन्त्रीले नै हो । गौर हत्याकाण्डको फाइल खोल्दा सरकार ढल्ने डरपछि गठबन्धनबाटै निर्णय गराएरै छानबिन नगर्ने निर्णय भयो ।

यसले सरकार कतै एक पछि अर्को काण्ड ल्याएर पुरानो काण्ड छोप्ने र मुख्य अभियुक्त जोगाउने खेलमा त लागिरहेको छैन रु शंकाको सुई गृहमन्त्री श्रैष्ठतर्फै सोझिएको छ । श्रेष्ठ साँच्चै भ्रष्टाचारको विपक्षमै हुनुहुन्छ वा स्टन्टमार्फत प्रचारवाजी मात्र गरिररहनुभएको छ रु अहिले फाइल खुलेका काण्डमा मुछिएकाहरुमाथिको अनुसनधान कसरी अघि बढ्छ रु त्यसपछि नै थाहा हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *