Main News

सुन तस्करी प्रकरण अनुसन्धानमा सघाउन माओवादी उपाध्यक्ष महरा तयार

हिमालय टिभी
२०८० साउन ३० गते १७:१८
सुन तस्करी प्रकरण अनुसन्धानमा सघाउन माओवादी उपाध्यक्ष महरा तयार

३० साउन २०८० दाङ । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले सुन तस्करी प्रकरणमा अनुसन्धानका लागि सरकारलाई सघाउन तयार रहेको दावी गर्नुभएको छ ।

दाङको घोराहीमा पत्रकारसँग उपाध्यक्ष महराले ९ किलो सुन तस्करी प्रकरणमा आफ्नो नाम जोडिएपछि यसबारेमा हुने जुनसुकै अनुसन्धानमा सघाउन तयार रहेको बताउनुभएको हो ।

विद्युतीय चुरोट अर्थात् भेपभित्र लुकाएर ल्याएको नौ किलो सुन तस्करी प्रकरणमा महरा र उहाँका छोराको नाम जोडिएको छ । अनुसन्धानका लागि बोलाउन भने पनि सम्बन्धित निकायबाट नबोलाएको महराको जिकिर छ ।

सुन तस्करी प्रकरणका आरोपित चिनियाँ नागरिकले भन्सारमा सामान रोकियो भनेपछि भन्सारका अधिकारीसँग कुरा गरेको उहाँले प्रष्टीकरण समेत दिनुभयो ।

आरोपित चिनियाँ व्यापारी लुई र डोओजिङ वाङसँग माओवादी नेता महरा र राहुलसँग पटक पटक संवाद भएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले प्रतिवेदन दिएको थियो ।

महराले वाङसँग १२ वर्षदेखि चिनजान र आउजाउ रहेको भन्दै फलफूल ब्यापारीका रुपमा कुराकानी हुने गरेको बताउनुभयो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा नियमित जाँचका क्रममा माघ २९ मा दुई वटा सुटकेसभित्र ७३ बट्टामा रहेको ७ सय ३० थान भेप बरामद भएको थियो । जाँच गर्दा त्यसमा सुन भएको थाहा पाएपछि भन्सारका नायब सुब्बाको मिलेमतोमा गोदाममा भएको भेप साटफेर गरेर ९ किलो सुन बिक्री गरेको खुलेको थियो ।

यसबारे अनुसन्धान गरेको सीआईबीले बुझाएको रायसहितको प्रतिवेदनका आधारमा सुन बिक्री गर्ने र सुन किन्ने समूहविरुद्ध संगठित अपराध र आपराधिक विश्वासघात शीर्षकमा मुद्दा चल्यो ।

भन्सारले पठाएको पत्रका आधारमा सीआईबीले संगठित अपराधको कसुरमा ६० दिनसम्म अनुसन्धान गरेर जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमा रायसहितको प्रतिवेदन बुझाएको थियो ।

प्रतिवेदनमा यो प्रकरणमा जोडिएका व्यक्तिहरुको कल डिटेल रेकर्डको विश्लेषण चार्ट समावेश थियो । जसले सुन ल्याउने समूहका चिनियाँ नागरिक लुई र डाओजिन वाङको महरा र उहाँका छोरा राहुलसँग सम्पर्क देखाएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *