Main News

ललिता निवास जग्गा प्रकरणः सीआईबीले लियो पूर्व मुख्यसचिव पौडेलसँग बयान

हिमालय टिभी
२०८० साउन ३० गते १३:२३
ललिता निवास जग्गा प्रकरणः सीआईबीले लियो पूर्व मुख्यसचिव पौडेलसँग बयान

३० साउन २०८० काठमाडौं । नेपाल प्रहरीको केन्द्र अनुसन्धान ब्यूरो सीआईबीले ललिता निवास जग्गा अनियमितता प्रकरणमा पूर्वमुख्यसचिव लीलामणि पौडेलसँग बयान लिएको छ ।

ब्यूरोले पौड्याललाई बोलाएर २०६९ सालको मन्त्रिपरिषद्को निर्णय र त्यसलाई प्रमाणीकरण गरेर पठाइएको पत्रबारे जानकारी लिएको हो ।

२०६९ सालमा गृह मन्त्रालय अन्तर्गतको समरजंग कम्पनीको नाममा रहेको ललिता निवासको जग्गा पशुपति टिकिन्छा गुठीको नाममा सार्न मन्त्रिपरिषद्ले सैद्धान्तिक स्वीकृति दिएको थियो ।

त्यो स्वीकृतिपछि मन्त्रिपरिषद्को बैठकको निर्णय मुख्यसचिव पौड्यालले प्रमाणीकरण गर्नुभएको थियो । त्यही विषयमा सीआईबीले पौड्यालसँग सोधपुछ गरेको हो । साढे तीन वर्षअघि पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमुख्यसचिव पौड्यालसँग बयान लिएको थियो ।

बयानमा उहाँले मन्त्रिपरिषद् बैठकमा पेश भएका प्रस्ताव मुख्यसचिवले पढेर सुनाउने भन्दै छलफल र निर्णयमा मुख्यसचिवको भूमिका नहुने प्रष्टीकरण दिनुभएको थियो । अख्तियारले पूर्व मुख्यसचिव पौड्यालको हकमा मुद्दा नचल्ने निर्णय गरेको थियो ।

सीआईबीले पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईसँग पनि बयान लिने तयारी गरेको छ । सङ्गठित अपराध निवारण ऐन–२०७० र मुलुकी ऐन–२०२० को कीर्तेसम्बन्धी महलका दफाअन्तर्गत उहाँहरुलाई बयानमा बोलाउन लागिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *