सुन प्रकरण एक्लिँदै माओवादी (भिडियो रिपोर्टसहित)
२९ साउन २०८० काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रमाथि सत्ताघटकको विश्वास धर्मराउन थालेको छ ।
संसदको तेस्रो दल भएर पनि सरकारको नेतृत्व गर्ने अवसर पाएको माओवादी पछिल्ला तीन प्रकरणमा सत्ता साझेदार अन्य घटकप्रति गरम र आफ्नाप्रति नरम बनेको आरोप छ । यीनै कारण सत्तारुढ गठबन्धनका अन्य घटक सशंकित बन्दा माओवादी एक्लिदै गएको भान हुन्छ ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारका गतिविधि र कार्यशैलीलाई लिएर मुख्य सत्ताघटक नेपाली कांग्रेस अहिले बिच्किएको मात्र छैन, सरकारबारे पुनर्विचारको माग पार्टीभित्र उठ्न थालेको छ ।
कांग्रेस संसदीय दलको बैठकमा सांसदहरुले अहिलेकै स्थितिमा अघि बढ्न कठिन हुने धारणा राखे । कांग्रेसलाई ुटार्गेटु गरेरै सिध्याउन खोजिएको कतिपय सांसदको दाबी छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा बालकृष्ण खाण, ललिता निवास प्रकरणमा विजयकुमार गच्छदार र नक्कली शैक्षिक प्रमाणपत्रमा सुनिल शर्मालाई तानिएको तर, माओवादीले सुन काण्डमा मुछिएका कृष्णबहादुर महरा र वर्षमान जोगाउन खोजेको कांग्रेस सांसदहरुले दलको बैठकमा धारणा राखे ।
सभापति शेरबहादुर देउवाकी पत्नीसमेत रहेकी नेतृ आरजु राणा देउवाले त प्रस्टैसँग सरकारका गतिविधि पाकिस्तानी शैलीका भएको र अब सोच्नुपर्ने बेला आएको धारणा राख्नुभयो । बैठकमा फरक(फरक विचार आएपनि कांग्रेस अहिले नै सरकार छाड्ने तहमा भने पुगिसकेको छैन ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले त संसदको पहिलो दल भएर पनि माओवादीको पछि लागेको भन्दै कांग्रेसमाथि कटाक्ष गरिररहेको छ । कतिपय एमाले नेताले त कांग्रेससँग सहकार्य गरेर माओवादीलाई पाखा लगाउनुपर्ने प्रयास पनि जारी राखेका छन् ।
कांग्रेस एमालेका केही नेताहरुबीच छलफल पनि भइरहेको छ । तर, सहकार्यको वातावरण भने बनिसकेको छैन । कांग्रेसलाई नेतृत्व गर्न प्रस्ताव गर्दा पनि कांग्रेसले माओवादीको साथ नछाडेकोमा एमाले चकित छ ।
एमाले त प्रमुख प्रतिपक्षी हो, सत्ताको फेरबदल चाहन्छ नै । तर, कांग्रेस जस्तै सत्ता साझेदार जनता समाजवादी पार्टी जसपा र एकीकृत समाजवादी पार्टी पनि माओवादी नेतृत्वसँग रुष्ट छ ।
तत्कालीन माओवादी र तत्कालीन मधेशी जनधिकार फोरमबीच भएको झडपमा परी २८ जनाको ज्यान गएको थियो । यसमा तत्कालीन फोरम र हालका सत्तारुढ जसपा अध्यक्ष उपेन्द्र यादवविरुद्धको किटानी जाहेरी मुद्दा ब्युताउने गरी गौर काण्डको छानबिनमा सरकारले पीडितसँग सहमति गरेकोमा आक्रोशित छ ।
यादव जस्तै ललिता निवास प्रकरणमा सर्वोच्च अदालतको आदेशपछि छानबिनको दायरामा तानिनुपर्ने एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि सन्तुष्ट हुनुहुन्न । सत्ता गठबन्धनभित्रको भुसको आगो सल्किदै गए सरकार धर्मराउँनेछ ।
अहिले नै भने माओवादी ढुक्क देखिन्छ । कांग्रेस सभापति देउवालाई विश्वासमा लिन सफल प्रचण्ड कांग्रेसभित्रको अर्को पक्ष विपक्षमा हुँदा पनि सरकारमा कांग्रेसको साथ पाउनेमा विश्वस्त देखिन्छन् ।
सतहमा सत्ताघटक एकै ठाउँ देखिएपनि भित्रभित्रै माओवादीसँग अन्य घटक सशंकित हुँदा माओवादी विस्तारै एक्लिने दिशामा अग्रसर देखिएको छ ।
प्रतिक्रिया