निर्माण व्यवसायीको बाँकी बक्यौता १५ दिनभित्र भुक्तानी हुने (भिडियो रिपोर्टसहित)
२९ साउन २०८० काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले निर्माण व्यवसायीहरूको बाँकी बक्यौता १५ दिनभित्र भुक्तानी गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
आन्दोलनरत निर्माण व्यवसायीसँग आज मन्त्रालयमा भएको छलफलमा अर्थमन्त्री महतले आयोजनामा बिल पेश गरेको एक महिनाभित्र अर्थमन्त्रालयमा आउने र त्यसको १५ दिनभित्रमा भुक्तानी दिने प्रतिबद्धता जनाउनुभएको हो ।
काम गरेकाहरूलाई भुक्तानी दिने दायित्व राज्यको भएकाले व्यवसायीहरूको कामको भुक्तानी रोक्ने सरकारको कुनै मनसाय नभएको समेत उहाँको भनाइ थियो ।
निर्माण व्यवसायीले राख्दै आएको भ्याटको विषयमा मन्त्रालयले उचित सम्बोधन गर्ने पनि आश्वासन दिनुभयो । हालसम्म भएको कामबाट सिर्जित दायित्वको भुक्तानी दिने तर काम अघि बढ्न नसक्ने देखिएमा त्यस्ता आयोजनाको ठेक्का तोड्ने महतको प्रष्टीकरण थियो ।
आयोजनाको म्याद थप गर्नुपर्दा भुक्तानीको तालिका सरकारले दिनुपर्ने व्यवसायीको माग छ । निर्माण कार्यको भुक्तानी हुनुपर्ने, सबै आयोजनाहरूको एकमुष्ट म्याद थप हुनुपर्ने लगायतका ९ बुँदे माग राख्दै निर्माण व्यवसायी महासंघ १६ दिनदेखि आन्दोलनमा छ ।
सरकारले निर्माण व्यवसायीलगायत सरोकारवालासँग आवश्यक छलफल, परामर्श र समन्वय गर्नेगरी सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव दामोदर रेग्मीको संयोजकत्वमा कार्यदल गठन गरेको छ ।
प्रतिक्रिया