Main News

एमालेको अवरोधका कारण प्रतिनिधि सभा बैठक स्थगित, अर्को बैठक भादाै ३ गते बस्ने

हिमालय टिभी
२०८० साउन २९ गते १६:१७
एमालेको अवरोधका कारण प्रतिनिधि सभा बैठक स्थगित, अर्को बैठक भादाै ३ गते बस्ने

२९ साउन २०८० काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)को अवरोधका कारण प्रतिनिधि सभा बैठक स्थगित भएको छ ।

प्रतिनिधि सभाको आजको बैठकमा पनि प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)ले सुन तस्करी प्रकरणको छानबिन गर्न उच्चस्तरीय छानबिन आयोग गठनको माग गरेर बैठक अवरोध गरेको हो ।

छानबिन आयोग गठनको आफूहरुको माग कायम रहेको र छानबिन आयोग गठन नभएसम्म बैठक सञ्चालन गर्न नदिने एमालेले बताएसँगै सभामुख देवराज घिमिरेले आगामी बैठक भाद्र ३ गते आइतवार दिउँसो १ बजे बस्नेगरी बोलाउनुभएको हो ।

प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा एमालेको अवरोधका बीचमै बोल्दै नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्माले प्रधानमन्त्री र गृहमन्त्रीले आतंककारीहरुको सरकारको नेतृत्व गर्दै हुनुहुन्छ भन्ने अभिव्यक्ति दिनुभएको थियो ।

सो अभिव्यक्ति पछि नेकपा(माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले नियमापत्ति गर्नुभएको थियो । यद्यपि सांसद शर्माले आफ्नो कुरा जारी राख्नुभयो । शर्माको मन्तव्य सकिएसँगै सभामुखले नेकपा(एमाले)का सांसद मानवीर राईलाई बोल्न समय दिनुभएको थियो ।

यतिन्जेलसम्म माओवादीको नियमापत्ति जारी थियो । सभामुखले सांसद राईलाई एकछिन बोल्न रोक्दै कुन विषयमा नियमापत्ति हो भनि प्रमुख सचेतक पाण्डेलाई सोध्नुभएको थियो । पाण्डेले सांसद शर्माले प्रधानमन्त्रीलाई आतंककारी भनेको भन्दै सो शब्द संसदको रेकर्डबाट हटाउन माग गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘यतिखेर एउटा माननीयले प्रधानमन्त्रीलाई आतंककारी भन्नेकुरा कसरी आउने हुन्छ ? कसरी सम्भव हुन्छ ? यो रेकर्डबाट हटाइनुपर्छ । र कारबाही गरिनुपर्छ । आतंककारी शब्द कसरी राख्न पाइन्छ ?’

सभामुखले प्रमुख सचेतक पाण्डेको भनाईमा आफ्नो ध्यानाकर्षण भएको बताउनु भयो । उहाँले सो विषय नियमापत्ति नभई आएको कुराको प्रतिवाद देखिएको भन्दै एमाले सांसद राईलाई पुनः बोल्न समय दिनुभयो । सांसद राईले सरकारले सुन तस्करीको विषयमा गरिरहेको छानबिनको विश्वसनीयता र सान्दर्भिकता नभएको भन्दै छानबिन आयोग गठनको आफूहरुको माग कायम रहेकाले संसद बैठकमा आफुहरुको बिरोध कायम रहने जानकारी गराउनु भयो ।

उहाँले भन्नुभयो – ‘सरकारले भ्रष्टाचारको अभियानमा जुन मैले गरिरहेको छु, म गर्छु भनिराख्नुभएको छ । त्यो विषय सान्दर्भिकता छैन । विश्वसनीयता छैन । त्यसैले यो सुन प्रकरणमा उच्चस्तरीय छानबिन आयोग गठन गरिनुपर्छ भन्ने हाम्रो माग छ । हाम्रो दाबी कायम छ । यो विषय अगाडी नबढुन्जेलसम्म हाम्रो विरोध कायम छ ।’

त्यसपछि सभामुखले शुन्य समयको कार्यक्रम प्रारम्भ हुने बताउनुभयो । सो पश्चात एमालेका सांसदहरु नाराबाजी गर्न थालेसँगै सभामुखले बैठक स्थगित गर्दै आगामी बैठक भदौ ३ गते आइतवार दिउँसो १ बजे बस्ने जानकारी गराउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *