Main News

एक क्विन्टल सुन तस्करी प्रकरणको छानबिन सीआईबीबाटै हुनुपर्ने कांग्रेसको निष्कर्ष

हिमालय टिभी
२०८० साउन २९ गते १५:२०
एक क्विन्टल सुन तस्करी प्रकरणको छानबिन सीआईबीबाटै हुनुपर्ने कांग्रेसको निष्कर्ष

२९ साउन २०८० काठमाडौं । कांग्रेस संसदीय दलको बैठकले एक क्विन्टल सुन तस्करी प्रकरणको छानबिन सीआईबीबाटै टुंग्याउनुपर्ने निर्णय गरेको छ ।

३ दिनसम्म बसेको संसदीय दल बैठकले सुन तस्करी प्रकरणको छानबिन सरकारी निकायबाटै हुनुपर्ने निष्कर्ष निकालेको हो । संस्थापन इतरले उच्चस्तरीय छानबिन समिति गठबनको माग गरेपनि बैठकले भने समिति गठनको आवश्यकता नदेखिएकाले सीआईबीबाटै अनुसन्धान हुनुपर्ने निचोड निकालेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सीआईबीलाई विश्वास गर्न आग्रह गरेकोभन्दै कांग्रेस सभापति शेरबहादुर देउवाले अहिलेलाई सीआईबीलाई नै काम गर्न दिनुपर्ने बताउनुभएको थियो । सीआईबीको अनुसन्धान सकिएपछि मात्र आवश्यक निर्णय लिन सकिने देउवाको तर्क थियो ।

कांग्रेसले जो सुकै संलग्न भएपनि कारवाही हुनुपर्ने माग गरेको छ । सभापति देउवा र उहाँ निकटका सांसदहरु उच्चस्तरीय समितिको विपक्षमा उभिएका थिए भने संस्थापन इतरका नेता शेखर कोइराला लगायत उहाँ निकट सांसदहरु समितिको पक्षमा उभिएका थिए ।

बैठकले सरकारका महत्वपूर्ण निकायको निगरानी हुने ठाउँमा सुन तस्करीजस्ता गैरकानूनी कार्य भइरहेकोप्रति सरकारको ध्यानाकर्षण पनि गराएको छ । त्यसअघि बैठकमा सभापति देउवाले सुनमा कर लगाएर आयात खोल्नुपर्ने तर्क गर्नुभएको थियो ।

महामन्त्री गगनकुमार थापाले राज्यका निकायलाई अविश्वास गर्न नहुने धारणा राख्नुभएको थियो । तर सुन तस्करी प्रकरणमा मुछिएका माओवादी उपाध्यक्ष कृष्णबहादुर महरामाथि पनि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले छानबिन गर्नुपर्ने उहाँको माग छ । गठबन्धनको स्थिरता र स्थायित्वका लागि प्रभावकारीरूपमा काम गर्ने दलको बैठकको निष्कर्ष छ ।

उपभोग्य सामानको मूल्यवृद्धि, कालाबजारी नियन्त्रण, बाढीपहिरो, डुबान र लम्पीस्किन, डेंगु, आँखा पाक्ने रोगजस्ता विषयमा कांग्रेसले ध्यानाकर्षण भएको जनाएको छ । जनताका समस्या राख्ने थलो सदनलाई बन्धक बनाइएको भन्दै कांग्रेसले लामो समयसम्म सदनमा छलफल हुन नसक्ने गरी प्रतिपक्ष उत्रिनु गैरजिम्मेवारी भएको टिप्पणी समेत गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *