Main News

नारायणी नदीमा पानीको बहाव उच्च, गण्डक ब्यारेजका सबै ढोका खोलियो

हिमालय टिभी
२०८० साउन २९ गते १३:०६
नारायणी नदीमा पानीको बहाव उच्च, गण्डक ब्यारेजका सबै ढोका खोलियो

२९ साउन २०८० काठमाडौं । लगातारको वर्षाको कारण नारायणी नदीमा पानीको बहाव बढेपछि गण्डक ब्यारेजको सबै ढोका खोलिएको छ।

ब्यारेजमा पानीको बहाव उच्च भएपछि नेपाल र भारततर्फको सबै ढोका खोलिएको हो। नदीको सतह खतरा नजिक पुगेपछि नेपाल र भारततर्फ रहेका ब्यारेजका ३६ वटै ढोका खोलिएको गण्डक ब्यारेजका भूआर्जन अधिकारी अमित खड्काले जानकारी दिनुभयो ।

ब्यारेजमा अहिले प्रतिसेकेन्ड २ लाख ७३ हजार ६ सय क्युसेक पानी प्रवाह भइरहेको छ । संरचना पुरानो भएकाले गण्डक ब्यारेजमा तीनलाख क्युसेक पानीको प्रवाहमा खतराको सूचक मानिन्छ। नारायणी नदीको नारायणगढ पुलमा पानीको सतहले चेतावनीको तह पार गरेको छ।

११ मिटर पुगेपछि चेतावनीको तह मानिनेमा अहिले ११ दशमलव १५ मिटर पानीको बहाव रहेको छ। नारायणी नदीमा बाढीको कारण क्षतिपुग्न सक्ने भन्दै पूर्वी र पश्चिम नवलपरासीमा सर्तकता अपनाउन प्रशासनले आग्रह गरेको छ।

यस्तै, सुनसरीस्थित सप्तकोशी नदीमा पानीको बहाव ३४ वर्षपछिकै उच्च मापन भएको छ ।

बाढीको बहाव उच्च भएपछि ब्यारेजका ५६ वटै ढोका खोलिएको र खतराको संकेत स्वरुप रातो बत्ती बालिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता एवम् डिएसपी राजकुमार राईले जानकारी दिनुभयो ।

तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन स्थानीय प्रशासनले आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले वस्तीमा बाढी पस्न सक्ने जोखिम भएकाले उच्च सतर्कता अपनाइएको जानकारी दिनुभयो ।

यसैगरी, महाकाली नदीमा पानीको सतह बढेपछि शारदा ब्यारेजमा चार पाङ्ग्रे सवारीसाधन आवागमनमा रोक लगाइएको छ । लगातारको वर्षापछि नदीमा पानीको बहाव बढेर एक लाख क्युसेक नाघेपछि हिजो साँझदेखि सवारीसाधन सञ्चालनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *