Main News

एमाले अडान : गृहमन्त्रीको राजीनामा (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० साउन २८ गते २१:०४
एमाले अडान : गृहमन्त्रीको राजीनामा (भिडियो रिपोर्टसहित)

२८ साउन २०८० काठमाडौं । साउन १० यता लगातार संसदमा अवरोध गरिरहेको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आइतबार पत्रकार सम्मेलन गरी आफ्नो धारणा सार्वजनिक गर्‍यो ।

पत्रकार सम्मेलनमा अध्यक्ष केपी शर्मा ओलीले संसद अवरुद्ध प्रतिपक्षी एमालेले नभएर सत्तापक्षले गरेको आरोप लगाउनुभयो । पछिल्लो राजनीति घटनाक्रमका बीच प्रधानमन्त्रीलाई कुर्सीमा बसिरहन नैतिकताले नदिने उहाँको भनाइ थियो । अनि, अर्थमन्त्री र गृहमन्त्रीले त तत्कालै राजीनामा दिनुपर्ने उहाँको अडान छ ।

पत्रकार सम्मेलनको सुरुमा केही आफू प्रतिकुल प्रश्न आएपछि एमाले अध्यक्ष केपी शर्मा ओली प्रतिप्रश्नमै उत्रनुभयो । त्यसपछि संसद अवरोधको विषयमा बोल्नुभयो । जहाँ उहाँले संसद अवरोध एमालेले नभएर सत्तापक्षले नै गरेको आरोप लगाउनुभयो ।

संसद अवरोधबारे कुरा राखेपछि ओलीले उच्चस्तरीय छानबिन समितिबारे बोल्नुभयो ।

विभिन्न वस्तुमा सुन लुकाएर ल्याउने गरेको उदाहरण पेस गर्दै ओलीले भन्सार जाँचपासमै प्रश्न उठाउनुभयो । सरकारको एउटा संयन्त्रको बदनीयतका कारण सुन भित्रिएको भन्दै सरकारी छानबिनलाई विश्वास गर्न नसकिने उहाँको भनाइ थियो ।

संसदीय छानबिन समिति बनाएर सुन प्रकरणको छानबिन गरे निश्पक्ष नहुने ओलीको भनाइ छ । त्यसपछि ओली सांसद सुनिल शर्माका विषयमा बोल्नुभयो ।

यतिका प्रकरण हुँदा पनि प्रधानमन्त्री कुर्सीमा बसिरहन नहुने ओलीको भनाइ थियो ।

सुन प्रकरणको हल्ला चलाएर एमालेको सरकारमा जाने कुनै योजना नरहेको उहाँको भनाइ छ । साथै पार्टीमा आफूले कसैलाई काखा र कसैलाई पाखा नगरेको स्पष्टीकरणसमेत ओलीले दिनुभयो । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग पार्टीका नेताहरुको भेट पुनः उहाँलाई पार्टीमा ल्याउने विषयसँग नजोडिएको ओलीको भनाइ थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *