ल्हारक्याल लामाले घोषणा गरेको ८ करोड दानको स्रोत के ? (भिडियो रिपोर्टसहित)
![ल्हारक्याल लामाले घोषणा गरेको ८ करोड दानको स्रोत के ? (भिडियो रिपोर्टसहित)](https://www.himalayatv.com/wp-content/uploads/2023/08/lharkyal-lama-1.jpg)
२८ साउन २०८० काठमाडौं । चौतर्फी विरोधकाबीच लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त हुनुभएका ल्हारक्याल लामाले सुरुमै विवादित निर्णय गर्न थाल्नु भएको छ ।
कोषको सम्पर्क कार्यालय काठमाडौं सार्ने निर्णय गरेर विरोधपछि लामाले उक्त निर्णय फिर्ता गर्नुभएको छ । तर उहाँमाथि अर्को प्रश्न पनि उठेको छ, उहाँले घोषणा गरेको सहयोग रकमको स्रोत के हो ?
विगतदेखि नै विभिन्न काण्ड र विवादमा मुछिएका ल्हारक्याल लामालाई प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय आफैंमा विवादित बन्यो ।
विगतमा भ्रष्टाचार, ठगी र आपराधिक क्रियाकलापको आरोप खेपेका लामालाई कोषमा लैजाने निर्णयको चर्को विरोध भएपनि सरकार पछि हटेन् । अन्ततस् लामा पाँच वर्षका लागि कोषको नेतृत्वदायी पद उपाध्यक्ष बन्नुभयो । पदभार ग्रहण गरेकै दिन लामाले लुम्बिनीको जिर्णोद्वारका लागि व्यक्तिगत सात करोड रुपैयाँ खर्चिने घोषणा गरेर सहानुभूति बटुल्ने प्रयास गर्नुभयो ।
सहयोग गर्ने घोषणासँगै उहाँले कोषको सम्पर्क कार्यालय काठमाडौंमा सार्ने अर्को विवादित निर्णय पनि गराउनुभयो । कोषको सम्पर्क कार्यालय सार्ने निर्णयको आलोचना भयो, त्यसपछि उहाँ यो निर्णयबाट त पछि हट्नुभयो ।
कोषको कार्यालय सार्ने निर्णयसंगै उहाँले सहयोग गर्ने रकमको स्रोतका बिषयमा पनि खोजिभैरहेको छ । कोषमा नियुक्त हुँदा नै लामाले मोटो रकम खर्च गरेको अनुमानकाबीच लुम्बिनी क्षेत्रको विकासको नाममा दिने घोषणा गरेको सात करोड रुपैयाँको स्रोतका बिषयमा पनि प्रश्न उठाइएको छ । त्यत्रो रकम उहाँसँग कसरी आयो रु स्रोत के हो ? यस्ता प्रश्न उठेका छन् ।
कोषको कार्यालय यस अघि पनि काठमाडौंमै थियो । तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री आनन्द पोखरेलको पालामा काठमाडौंको सम्पर्क कार्यालय बन्द गरिएको थियो ।
लुम्बिनीको विकास काठमाडौंमा कार्यालय राखेर हुन नसक्ने बुझाइ, बुद्धिजीवि र स्थानीयको आग्रह अनुसार सम्पर्क कार्यालय हटेको थियो । कार्यालय सार्ने निर्णय त फिर्ता भएको छ, तर ल्हारक्याल लामाले ७ करोडको स्रोत कसरी देखाउनुहुन्छ, त्यो महत्वपूर्ण छ ।
प्रतिक्रिया