Main News

अमनलाल मोदीलाई सरकारबाट फिर्ता बोलाउने माओवादी केन्द्रको निर्णय

हिमालय टिभी
२०८० साउन २८ गते १७:५८
अमनलाल मोदीलाई सरकारबाट फिर्ता बोलाउने माओवादी केन्द्रको निर्णय

२८ साउन २०८० काठमाडौं । नेकपा माओवादी केन्द्रले सामान्य प्रशासन मन्त्री अमनलाल मोदीलाई फिर्ता बोलाएर जनमत पार्टीलाई सरकारमा सहभागी गराउने निर्णय लिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले मोदीलाई सरकारबाट फिर्ता बोलाएर सामान्य प्रशासन मन्त्रालय जनमतलाई दिने निर्णय गरेको हो । मोदीको कार्यशैलीमा माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड रुष्ट रहेको खबर सार्वजनिक भएको थियो ।

मोदीले कर्मचारी सरुवारबढुवामा रकमको चलखेल गरेको आरोप माओवादीभित्रै लाग्दै आएको थियो । यता, मन्त्री मोदीले आफूले ३ महिनाअघि नै पदबाट राजीनामा दिएको जानकारी दिनुभएको थियो ।

उहाँले कर्मचारी सरुवारबढुवामा धेरै झमेला व्यहोर्नुपरेको र यसबारे प्रधानमन्त्री र पार्टी उपाध्यक्ष समेत रहेका उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठलाई पटक(पटक जानकारी समेत गराएको सहयोग नपाएकोभन्दै पहिले नै राजीनामा गरेको दाबी गर्नुभयो ।

मोदीसँगै पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीसँग पनि प्रधानमन्त्री रुष्ट रहेको खबर बाहिरिएको थियो । उहाँ स्टन्ट मै रमाएको आरोप लागेपनि तत्कालका लागि उहाँको पद जोगिएको छ । यस्तै माओवादी पदाधिकारी बैठकले सुन तस्करी प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीलाई नै दबाबरहित छानबिनका लागि सहयोग गर्ने निर्णय गरेको छ ।

आफ्ना नेताहरुको नाम जोडिएको सन्दर्भमा पनि छानबिनका लागि सहयोग पुर्याउन पार्टीले निर्देशन दिएको नेताहरुले जानकारी दिएका छन् । तत्कालका लागि उच्चस्तरीय छानबिनको आवश्यकता नरहेको माओवादीले निश्कर्ष निकालेको छ ।

माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा ९ किलो सुन तस्करी प्रकरणमा जोडिएको खबर सार्वजनिक भएको छ भने एक क्विन्टल सुन तस्करी प्रकरणमा पक्राउ परेका दावा छिरिङसँग उपमहासचिव वर्षमान पुन लगायतका नेताका साँठगाँठ रहेको हुनसक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *