देशभर वर्षा, विभिन्न स्थानमा बाढी र डुबान
२८ साउन २०८० काठमाडौं । देशका विभिन्न स्थानमा लगातार वर्षा भैरहेको छ ।
आज र भोलि धेरैजसो ठाउँमा लगातारजसो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। काठमाडौं उपत्यकासहित केही ठाउँमा आज दिउँसो दुई तीन घण्टा लगातार झरी पर्ने सम्भावना रहेको मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो ।
सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा आज राति अति भारी वर्षाको सम्भावना छ । पूर्वबाट पश्चिम दक्षिण पश्चिमतिर सर्दै गएको पानी पार्ने प्रणाली सुदूरपश्चिममा बढी केन्द्रित भएकाले अति भारी वर्षाको प्रक्षेपण गरिएको हो ।
भोलि पनि कर्णाली र सुदूरपश्चिम प्रदेशका केही तथा कोशी, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा साथै बाँकी प्रदेशका एक दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ । लगातारको वर्षाले पहाडी भूभागमा चल्ने आन्तरिक उडान प्रभावित हुने सक्ने छ।
त्यस्तै पश्चिमी क्षेत्रको नदीमा जलसतह बढ्न सक्ने र पहाडी भु भागमा पहिरोको जोखिम रहेको भन्दै सर्तकता अपनाउन महाशाखाले आग्रह गरेको छ। मंगलवारदेखि भने मौसममा क्रमश सुधार आउने महाशाखाले जनाएको छ।
यसैबीच बर्दियामा अति भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागले बर्दियाको रम्भापुरमा पछिल्लो २४ घण्टामा २ सय २६ दशमलब ४ मिलिमिटर वर्षा रेकर्ड गरेको छ ।
यस्तै बर्दियाकै रानी जरुवा नर्सरीमा १ सय ७२ दशमलब ८ मिमिमिटर वर्षा मापन भएको छ । सानो श्री चेपाङमा १ सय ७४ दशमलब २ मिलिमिटर वर्षा भएको छ । यी दुई ठाउँको वर्षा पनि अति भारी वर्षा जनिक छ ।
बर्दियाको रम्भापुरमा २४ घण्टामा २ सय मिलिमिटरभन्दा धेरै वर्षा भएको छ । अति भारी वर्षा भएकाले बर्दियामा बाढीको उच्च जोखिममा परेको छ । यहाँका सडक र सम्म परेका ठाउँहरू जलमग्न भइसकेका छन् ।
स्थानीय खोलामा आएको बाढीले बार्बर्दिया नगरपालिका ८ का सबै गाउँहरू डुबानमा परेका छन् । बाढी पसेपछि बिहानैदेखि गाउँ डुबानमा परेको वडाध्यक्ष नरबहादुर चन्दले बताउनुभयो ।
प्रतिक्रिया