दुई चिनियाँ नागरिक र रोहन अडुकिया थुनामुक्त

२७ साउन २०८० काठमाडौं । अध्यागमन विभागको कालोसूचीमा परेका दुई जना चिनियाँ नागरिक थुनामुक्त भएका छन् ।
राजश्व अनुसन्धान विभागले गरेको पत्राचारका आधारमा अध्यागमन विभागले दुई चिनियाँ नागरिक ली जिएलिन र लुई फुयानलाई पक्राउ गरेर प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीलाई बुझाएको थियो ।
एक क्विन्टल सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोपमा उनीहरु पक्राउ परेका थिए । अनुसन्धानका क्रममा उनीहरुलाई अहिल्यै थुनामा राख्नुपर्ने कारण नदेखिएकाले चाहिएका बेला उपस्थित हुने गरी छाडेको केन्द्रीय प्रहरी प्रवक्ता कुवेर कडायतले जानकारी दिनुभयो ।
दुई चिनिया नागरिकसँगै व्यवसायी रोहन अडुकिया पनि थुनामुक्त भएका छन । व्यवसायी राकेश अडुकियाका छोरा रोहन दिल्लीबाट आएलगत्तै शुक्रबार पक्राउ परेका थिए । राजश्व अनुसन्धान विभागले साउन ३ गते हङकङबाट आएको १५५ किलो सुनसहितको ब्रेक शु बरामद गरेको थियो ।
विभागले त्यसको १९ दिनपछि यसमा संगठित अपराधको कसूर आकर्षित हुने देखिएको भन्दै थप अनुसन्धानका लागि सीआईबीलाई जिम्मा लगाएको थियो । राजश्वको पत्रका आधारमा अध्यागमन विभागले शुक्रबार रोहन अडुकियालाई पनि पक्राउ गरेको थियो ।
प्रतिक्रिया