Main News

एमालेको अवरोधपछि प्रतिनिधि सभाको बैठक स्थगित

हिमालय टिभी
२०८० साउन २६ गते १४:२९
एमालेको अवरोधपछि प्रतिनिधि सभाको बैठक स्थगित

२६ साउन २०८० काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले आज पनि प्रतिनिधि सभा र राष्ट्रिय सभाका दुबै बैठकमा अवरोध गरेको छ ।

एक सय किलो सुन तस्करी प्रकरणको छानबिनको लागि उच्चस्तरीय समिति गठन नभएसम्म सदन चल्न नदिने एमालेको अडान छ ।

प्रतिनिधिसभा बैठकको सुरुमै एमालेका सांसदहरुले अवरोध गरेपछि सत्तापक्षका सांसदहरुले पनि उठेर बोल्न नदिने रणनीति लिएका थिए ।

एमालेकी सांसद ज्वालाकुमारी साहलाई सभामुख देवराज घिमिरेले बोल्न समय दिएपछि सत्तापक्षका सांसदहरुले त्यसलाई अवरोध गर्ने रणनीतिका साथ उठेर बिरोध जनाए। सत्तापक्षमा सांसदहरुले उठेपछि एमालेका सांसदहरुले वेल घेराउ गर्दै सरकार र सत्तापक्षबिरुद्ध नाराबाजी गरेका छन् ।

एमालेका सांसदहरुले नाराबाजी गरेपछि साउन २९ गतेसम्मका लागि बैठक स्थगित गरिएको हो ।

यसअघि राष्ट्रियसभा बैठक पनि एमालेको अवरोधको कारण नियमित कार्यसूचीमा प्रवेश गर्न सकेन । बैठकमा समसामयिक विषयमा सदस्यहरुले धारणा राखिसकेपछि अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नियमित कार्यसूचीमा प्रवेश गराउँदा एमाले सांसदहरुले अवरोध गरेका हुन ।

राष्ट्रियसभाको अर्को बैठक साउन ३१ गते दिउँसो बस्नेछ । एमालेले साउन १० गतेदेखि सदन चल्न दिएको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *