Main News

संखुवासभा कारागारमा कसरी मृत्यु भयो दुई कैदीबन्दीको ? (भिडियो रिपोर्टसहित)

२०८० साउन २४ गते २०:५२
संखुवासभा कारागारमा कसरी मृत्यु भयो दुई कैदीबन्दीको ? (भिडियो रिपोर्टसहित)

२४ साउन २०८० संखुवासभा । संखुवासभाको कारागार विवादबाट कहिल्यै अछुतो रहन सकेन । चार महिना अघि मात्रै कारागारमा कैदीबन्दीको हातमा फोन, मदिरा र चुरोटको निर्वाध सेवन गरेको भिडियो बाहिरियो ।

जुवा तासमा कैदी झुमिरहेको दृष्यले कारागार विवादमा तानिएको हो । अहिले फेरि सोही कारागारमा दुई कैदीबन्दीको मृत्यु भएको छ । कैदीबन्दीबीच कुटाकुट हुँदा दुई जनाको मृत्यु भएको भनिएको छ।

मृत्यु भएका दुवै कैदी गएराति कारागार तोडेर भाग्न खोजेका थिए । राति भाग्न खोजेका कैदी बिहान मृत भेटिएपछि प्रहरीले घटनाको छानविन गर्न अनुसन्धान समिति बनाएको छ भने ९ जना कैदीलाई नियन्त्रणमा लिइएको छ ।

संखुवासभा कारागारमा बुधबार बिहान मादी नगरपालिका –५ का १९ वर्षीय विनोद तोलाङ्गी र नुवाकोट ककनी गाउँपालिका –७ का २८ वर्षीय आकाश बलामी मृत भेटिए । बिहान कारागारभित्र अचेत फेला परेका उनीहरूको उपचारको क्रममा मृत्यु भएको हो । घटनापछि कैदीबन्दीहरूले नै आरोप लगाएका ९ जनालाई नियन्त्रणमा लिइएको छ ।

मृत भएका दुवै भगौडा कैदी
घटनाको सुरुवात बुधबार बिहान दुईबजेदेखि भएको बुझिएको छ । दुई बजेराति बलामी र तोलाङ्गी कारागारबाट भाग्न खोजेका थिए । शौचालयको झ्यालको रड काटेर भाग्न लागेका थिए । तर, भाग्नै लाग्दा प्रहरीले दुवैलाई नियन्त्रणमा लिएको थियो । योजना विफल हुनुमा अन्य कैदीबन्दीलाई दोष देखाएपछि झगडा सुरु भएको बुझिएको छ । र, त्यस दौरान कुटपिटबाट दुवै जनाको मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । मृतकको शरीरमा लात्ती र मुक्काको डाम छ ।

कारागारमा छैन सीसीटिभी
२५ कैदीको क्षमता भएको जिल्ला कारागार संखुवासभामा १ सय ४३ कैदीबन्दी छन् । कारागारमा हुने हरेक गतिविधि नियाल्न सीसीटिभी हुनुपर्ने हो । विदेशका कारागारमा सेलमा पनि सीसीटिभी जडान हुन्छ । तर, संखुवासभाको कारागारको सेलमा भने सीसीटिभी छैन । सीसीटिभी नहुँदा सेलमा भएको घटनाबारे प्रहरीलाई अनुसन्धानमा समस्या निम्तिएको छ ।

छानबिन समिति गठन
कारागारमा भएको घटनालाई छानबिन गर्न सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरिएको छ । उक्त घटनापछि जिल्ला कारागार परिसर र बाहिरी क्षेत्रमा प्रहरी निरीक्षक भुवनबाबु खड्काको नेतृत्वमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

सधैँ विवादमा कारागार
यही कारागारमा चार महिना अघि निर्वाध रक्सी सेवन, जुवा तास खेलेको भिडियो बाहिरिएको थियो । जहाँ कारागारभित्र सहजै फोनमा कुराकानी भइरहेका दृषय बाहिरिएको थियो । यही कारागारमा बुधबार दुई कैदीबन्दी मारिए ।

कारागारमा तीन सिफ्टमा गरी २० जना प्रहरी खटिएका हुन्छन् । एक सिफ्टमा ६ जना प्रहरी खटिँदा पनि कारागारमा रातको समयमा कुटपिट हुनु, प्रहरीले ४ बजे राति मात्रै थाहापाउनुले घटना रहस्यमय छ । प्रहरीले सुइँको समेत नपाउनुले कैदीको मृत्युमा प्रहरीकै संलग्नताको पनि आशंका गरिएको छ । मादी नगरपालिकाकी उपमेयर सुनितादेवी भट्टराईले घटनाको सत्य तथ्य छानबिन गर्न माग गर्नुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *