राजनीति

सरकारले गौर हत्याकाण्ड छानबिन गर्ने भएपछि उपेन्द्र यादव सशंकित (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० साउन २४ गते २०:४४
सरकारले गौर हत्याकाण्ड छानबिन गर्ने भएपछि उपेन्द्र यादव सशंकित (भिडियो रिपोर्टसहित)

२४ साउन २०८० काठमाडौं । सरकारले १७ वर्षअघि भएको गौर हत्याकाण्डको छानबिन र अनुसन्धान गरी दोषीलाई कारबाहीको प्रक्रिया अगाडि बढाउने भएको छ ।

मंगलबार गौर हत्याकाण्ड पीडित संघर्ष समितिसँग सरकारले पाँच बुँदे सहमति गर्दै हत्याको छानबिन गर्ने भएको हो । पार्टी नेतृत्व उपेन्द्र यादवको नाममा यसअघि परेको जाहेरीका आधारमा अनुसन्धान अगाडि बढाउने भएपछि जसपा सशंकित बनेको छ ।

साउन १ देखि रौतहटमा गौर घटनाका पीडितले निरन्तर प्रदर्शन गरेपछि सरकारले साउन १६ मा औपचारिक पत्र पठाएर वार्तामा बोलायो । मंगलबार गृह मन्त्रालयमा भएको वार्तामा सरकारले संघर्ष समितिसँग पाँच बुँदे सहमति गर्यो ।

सहमतिमा गौर घटनाको विषयमा तत् समयमा दर्ता भएका जाहेरी समेतलाई छानबिन र अनुसन्धान गरी तथ्य र प्रमाणका आधारमा दोषीलाई कानुनबमोजिम कारबाहीको प्रक्रिया अगाडि बढाउने उल्लेख छ । २०६३ चैत ७ मा २७ जनाको हत्या भएपछि चैत २८ मा तत्कालीन मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवविरुद्ध जाहेरी परेको थियो । मंगलबारको सहमतिपछि अब ती सबै जाहेरीमाथि छानबिन हुनेछ । यही कारण सत्ता गठबन्धनमा आबद्ध दल जसपा हच्किएको छ ।

मंगलबार भएको निर्णयसँगै उपेन्द्र यादवले शीर्ष नेतासँग भेटघाट सुरु गर्नुभएको छ । बुधबार कांग्रेस सभापति शेरबहादुर देउवासँग यस विषयमा उहाँले चासो राख्नुभएको थियो । आफुमाथि छानबिन हुने भएपछि गठबन्धनमै खटपट आउन सक्ने चेतावनी समेत यादवले दिनुभएको थियो ।

यादवको उक्त चेतावनीपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र देउवाबीच भेट भयो । संसदको गतिरोध अन्त्य मुख्य मुद्दा भनेपनि यादवका बारेमा पनि छलफल भएको थियो । तर, प्रचण्डले छानबिनबाट पछि हट्न समस्या रहेको बताउँदै अघि बढाउने बताउनुभएको थियो । तर, यादवका बारेमा सोच्न सक्ने प्रचण्डले देउवालाई जानकारी गराएको बताइएको छ । दुई नेताबीच भएको छलफलका बारेमा जानकारी गराएपछि ढुक्क हुन नसकेका यादवले बुधबार नै जसपाको कार्यकारिणी समितिको बैठक बोलाउनुभयो ।

यस घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय रौतहटको अपराध दर्ता किताबमा २०६४ वैशाख २८ मा दुईवटा किटानी जाहेरी परे पनि छानबिन र अभियोजन दुवै हुन सकेन । घटनाको जाहेरी दरखास्तमा नाम रहेका १ सय ३० जना उपर अनुसन्धान र अभियोजन गर्न मानव अधिकार आयोगले सिफारिस गरेको थियो ।

गौर घटना जाँचबुझ आयोगको प्रतिवेदन २०६४ बाट दोषी भनी नाम उल्लेख भएकोमा नरसंहारका मुख्य योजनाकार उपेन्द्र यादवलाई नै देखाइएको छ । प्रहरीमा यादवविरुद्ध कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता छ ।

प्रहरी कहाँ जाहेरी परेका केही नेताको नाम
बबन सिंह
ललन सिंह
चन्द्रिका सिंह
भुषण सिंह
अजय गुप्ता
बाबुलाल साह
गौरी शंकर
गगनदेव बैठा
शम्भू साह
बलराम सिंह कुंवर
गणेशमान यादव

को समेत नाम छ । यीमध्ये कतिपय अहिले जसपाको विभिन्न पदमा आसिन नेता हुन् । आफू र आफ्ना नेता नै मुसिने भएपछि यादव हठात देखिनुहुन्छ । तर पछिल्लो समय सरकारले ललिता निवास र भुटानी शरणार्थी प्रकरणमा नेताहरुलाई नै नछोडेपछि यादवमा त्यो डर देखिनु स्वभाविक हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्